ताप्लेजुङ, १ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल, ताप्लेजुङले आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन् । उनले देशको आवश्यकताले नेकपा ९एमाले० र नेपाली कांग्रेसको गठबन्धनसहितको सरकार बनेकाले आगामी निर्वाचनसम्म यही सरकार रहने बताए ।
उनले भने,‘देशमा विषम परिस्थिति सिर्जना भएकाले एमालेको नेतृत्वमा सरकार गठन भएको हो । सरकारले देशको आर्थिक स्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तिब्रता दिएको छ ।’ उनले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने बताए । संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगको सङ्ख्या पनि घटाउनुपर्ने उनको भनाइ छ ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको उनको दाबी छ । उनले भने,‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्वान गरेको छ, थुप्रै आर्थिक ऐन संशोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ ।’ उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने बताएका छन् ।




प्रतिक्रिया