काठमाडौं, २ भदौ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा हुने भेटले दुई देशबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशंकालाई चिर्न सफल हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली–मोदीको बोधगयामा हुने भेट सम्बन्ध सुदृढ गर्नका लागि कोशेढुङ्गा सावित हुने बताएका हुन् । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको तर्फबाट भ्रमणको निमन्त्रणा दिइसकेका छन् ।
‘बोधगयामा भारत सरकारले वार्ता राखेको छ । भारत र नेपालको जुन सम्बन्ध छ । त्यसमा चिसोपना आएको हो कि भन्ने मान्छेहरुलाई लागिरहेको अवस्थामा अब सम्बन्धलाई सुमधुर बनाउने हो । कुन प्रोजेक्ट के गर्ने, एक आपसमा के आदान–प्रदान गर्ने भन्ने कुरा त अर्को विषय भयो । सम्बन्धलाई सुदृढ गर्नका लागि कोशेढुङ्गा सावित हुन्छ भन्ने मलाई लागेको छ । अहिले नेपाल–भारतको सम्बन्ध चिसियो । चिसोपन आयो भनेर बाहिर जुन हल्ला भएको थियो, त्यसलाई चिर्दै यो वार्ता सौहार्दपूर्ण हुनेछ,’– उनले भने ।
साथै, फरक प्रसंगमा मन्त्री दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका लागि पहल भइरहेको बताए । उनले विपिनलाई सकुशल नेपाल फर्काउने सन्दर्भमा सरकारले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र फोरमहरुमा पनि लविङ गरिरहेको बताए । उनले भने, ‘विपिन जोशी अहिलेसम्म जिवितै हुनुहुन्छ भन्ने कुराको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको छ । उहाँलाई नेपाल फर्काउने सन्दर्भमा नेपाल सरकारको तर्फबाट यहीँ बसेर पनि लविङ भएको छ । अन्तर्राष्ट्रिय मञ्च, अन्तर्राष्ट्रिय फोरमहरुमा पनि लविङ भएको छ । विपिन जोशी छिटोभन्दा छिटो रिहाइ हुनुपर्छ, नेपाल फर्किनुपर्छ भन्ने कुरामा नेपाल लागिरहेकै छ ।’




प्रतिक्रिया