भारतीय विदेशसचिव मिश्री जङ्गी अड्डामा, सुरक्षा सहकार्य बलियो बनाउनेबारे छलफल


काठमाडौं, २ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले नेपाली सेनाको मुख्यालयमा पुगेर प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । सो क्रममा भारतीय विदेशसचिव मिश्रीले लाइट स्ट्राइक भेहिकल्स, क्रिटिकल क्रेयर मेडिकल इक्युइपमेन्टलगायत प्रधानसेनापति सिग्देलाई हस्तान्तरण गरेका छन् ।

दुई देशका सेनाबीच नजिकको सम्बन्ध रहेको कुरा आजको सहयोग प्रदानले पनि स्पष्ट पारेको नेपालस्थित् भारतीय दूतावासले उल्लेख गरेको छ । भारतीय विदेशसचिव हिजो (आइतबार) काठमाडौं ओर्लिएका हुन् । उनी आजै स्वदेश फर्किने कार्यतालिका छ । भारत फर्किनुअघि उनले नेपालका मधेशवादी दलका नेताहरुसँग सामूहिक भेटवार्ता गर्ने बुझिएको छ ।

नेपाल बसाईको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा, परराष्ट्रसचिव अमृतबहादुर राई, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेट गरेका छन् ।

यो भ्रमणमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको लागि पठाएको निमन्त्रणापत्र समेत प्रदान गरेका छन् । प्रधानमन्त्री ओली आगामी भदौको अन्तिममा भारत भ्रमणमा जाने भएका छन् । उनलाई सेप्टेम्बर १६ र १७ को लागि दुई दिने भ्रमणको निम्तो आएको भनिएको छ ।