काठमाडौं, २ भदौ । सर्वोच्च अदालतले रौतहटको गौरको राईसमिलमा घटेको ‘गौर हत्या काण्ड’ मा घटना घटेको १९ वर्षपछि मुद्दा चलाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले सो मुद्दामा निवेदकको माग बमोजिम हुने आदेश दिएको हो ।
त्रिभुवन साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरसमेतलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा चलाउन परमादेश दिएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।
योसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सो मुद्दामा तानिने भएका छन् । २०६३ चैत ७ गते रौतहटको गौरको राईसमिलमा उक्त घटना घटेको थियो । गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।
उनीहरुको निर्मम हत्या भएको थियो । उक्त घट्ना हुँदा २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए–उपेन्द्र यादव । उनकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरि निर्मम हत्या गरेको तत्कालिन माओवादीले दाबी गरेको थियो ।





प्रतिक्रिया