काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी थालेका छन् । उपसभामुख रानालाई हटाउने उद्देश्यले दुवै दलले आ–आफ्नो संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । एमाले संसदीय दलको बैठक अहिले जारी रहेको छ । बैठकमा उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर संकलन गरिएको बताइएको छ ।
त्यस्तै, नेपाली कांग्रेसले पनि दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था संविधानमा रहेको छ । अहिले संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व छैन ।
उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयलाई लिएर उनलाई हटाउने तयारी भइरहेको बताइएको छ । उपसभामुख रानामाथि नैतिकताको प्रश्न उठाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोगको प्रस्ताव लैजान कांग्रेस–एमाले तयार भएका हुन् ।




प्रतिक्रिया