यो नै कामको लागि भनेर हस्ताक्षर संकलन गरिएको होइन, महाअभियोगमा पनि प्रयोग हुनसक्छः योगेश भट्टराई


काठमाडौं, ३ भदौ । नेकपा (एमाले) ले खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गराउन महाअभियोगको प्रस्ताव दर्ता गराउने उद्देश्यकले हस्ताक्षर संकलन गरिएको बताइएको छ । एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराई हस्ताक्षर महाअभियोग, सरकार बदल्न र विभिन्न प्रस्तावहरुको लागि काम आउन सक्ने बताउँछन् । खास यो नै कामको लागि भनेर हस्ताक्षर नलिइएको नेता भट्टराईको भनाइ छ ।

‘हस्ताक्षरहरु कहिलेकाहीँ विभिन्न काममा प्रयोग हुन्छन् नि । महाअभियोगमा प्रयोग हुन्छ, सरकार बदल्नमा प्रयोग हुन्छ । सामान्यतः सांसदहरुको हस्ताक्षर त्यो बेलामा चाहिन्छ नि त । यिनै काम गर्नको निम्ति भनेर हस्ताक्षर लिएको होइन । तर, यी कामहरु हुनसक्छन्,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

कहिलेकाहीँ अपरझट प्रस्ताव दर्ता गर्न पर्ने अवस्था आउने र त्यतिबेला सांसदहरु कोही विदेश त कोही काठमाडौं बाहिर गइरहेको अवस्था हुने भएकाले पूर्व तयारीका लागि हस्ताक्षर संकलन गरिराखिएको उनले बताए । साथै, कांग्रेस र एमालेले एकै दिन हस्ताक्षर संकलन गर्नु संयोगमात्रै रहेको उनको भनाइ छ ।