माओवादी र प्रचण्डलाई प्रधान-शत्रु मानेर अगाडि बढ्ने रास्वपाको रणनीति असफल भएपछि…!


काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी र सो पार्टीका सभापति रवि लामिछानेको बचाउमा बोल्ने गरेका छन् । उसो त प्रचण्डकै क्याविनेटमा लामिछाने दुई पटक उपप्रधानसहित गृहमन्त्री बनेका थिए । लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको बेलामा उनी गृहमन्त्री थिए । सो क्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसद्मा उभिएर लामिछानेविरुद्ध कहीँ–कतै सहकारी ठगीमा उजुरी नरहेको बताएका थिए ।

त्यस्तै, लामिछानेमाथि प्रतिशोध साँधेर मुद्दा चलाइएको उनले बताउँदै आएका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री मुकुल ढकालले पार्टीको स्थापना नै माओवादी र प्रचण्डलाई प्रधान शत्रु मान्नेगरी बनेको दाबी गरेका छन् । सोही रणनीतिअनुसार रास्वपा तयार भएको र प्रचण्डकै क्षेत्र निर्वाचन क्षेत्र (चितवन–३) बाट लामिछानेलाई चुनावमा उठाउने हल्ला चलाएर प्रचण्डलाई गोर्खा पुर्याइएको उनले बताए । प्रचण्डले चितवनमा ठाउँ छाडिसकेपछि लामिछाने क्षेत्र नं. २ बाट चुनाव लड्न तयार भएको उनले बताए ।

‘हामीले पार्टी खोल्दै गर्दाखेरी हाम्रो आन्तरिक सहमति के थियो भन्दाखेरी प्रचण्ड र माओवादीलाई यो देशको प्रधान शत्रुको रुपमा मानेर अगाडि बढ्ने भन्ने हाम्रो नीति थियो । त्यो नीतिअन्तर्गत चितवन क्षेत्र नं. ३, जुन पहिला प्रचण्ड उठेका थिए, त्यहाँ रवि लामिछाने उठ्ने भनेर हामीले घोषणा गर्यौं । त्यसपछि प्रचण्ड भागेर गोर्खा गए,’– उनले भने ।

रविले २०७९ को निर्वाचनमा चितवन–३ बाट भगाएर गोर्खा पुर्याएको रिस प्रचण्डले प्रधानमन्त्री भएपछि फेरेको उनको दाबी छ । उनले प्रचण्डकै चाहनामा सहकारी ठगी प्रकरणमा छानविन समिति बनेको र लामिछानेलाई दोषी करार गरिएको बताए । लामिछाने सहकारी ठगीमा फस्नुमा प्रचण्डको ग्राण्डडिजाइन मुख्य रहेको उनको भनाइ छ ।

‘चितवन क्षेत्र नं. ३ मा उठ्ने भनेको हो । प्रचण्ड अन्तिममा गोर्खा भागेको हो । त्यसको बदला उहाँले लिनुभयो । प्रचण्डले नचाहेको भए छानविन समिति बन्दैन थियो । कांग्रेससँग सरकार हुँदाहुँदै एमालेसँग सरकार बदल्नुपर्ने त्यसको औचित्य के थियो त ? आजको दिनसम्म कसैले भन्दिनु पर्यो कि प्रचण्डले कांग्रेससँग सरकार छाडेर एमाले र रास्वपासँग सरकार किन बनाए त ? यो पूरै ग्राण्डडिजाइन प्रचण्डको हो,’– उनले भने ।

अहिले प्रचण्डले बाहिर रास्वपाको पक्षमा बोल्दै हिँडे पनि भित्र भने विपक्षमा रणनीति बनाउँदै हिँडेको उनको भनाइ छ । लामिछानेको विरुद्धमा बाहिरी रुपमा प्रचण्ड लागेको र पार्टीगत रुपमा उपसभापति डा.स्वर्णिम वाग्ले लागेको उनको भनाइ छ । ‘बाहिर बोल्दिने, भित्र हान्ने । यही कुरा हो । बाहिरबाट सबैभन्दा ठूलो लिड प्रचण्डले गर्नुभएको छ । भित्रबाट लिड स्वर्णिम वाग्लेले गर्नुभएको छ,’– उनले भने ।