काठमाडौँ, ३ भदौ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन भइरहेको बञ्चरेडाँडामा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई पूरक वातावरणीय प्रतिवेदन तयार गर्ने कार्य अघि बढेको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सिसडोल र बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको पहुँचमार्गका विभिन्न विकल्पबारे अध्ययन भइरहेको जानकारी दिए ।
उपप्रधानमन्त्री सिंहका अनुसार ल्याण्डफिल साइटको करिब ४० मिटर उचाइको बाँधमध्ये हाल २५ मिटर बाँधसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ । यसको सञ्चालनका लागि काठमाडौँ महानगरपालिकालाई उपलब्ध गराइएको र बाँधको उचाइ बढाउने कार्यको खरिद प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।
सिसडोल क्षेत्रमा फोहरबाट उत्पन्न ‘लिचेट’ व्यवस्थापन र स्थानीयवासीका विभिन्न माग यथासम्भव सम्बोधन गर्नेलगायत काम भइरहेको बताए । उनका अनुसार फोहरमैला व्यवस्थित ढङ्गले बिसर्जन, फोहरबाट उत्पन्न ‘ब्याक्टेरिया’को नियन्त्रण, फोहरको वर्गीकरण गरी विद्युत् उत्पादन, कम्पोष्ट मल कारखाना स्थापना र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने विषयमा मन्त्रालयले काठमाडौँ महानगर र अन्य निकायसँग सहकार्य तथा समन्वय गरिरहेको छ ।
उपप्रधानमन्त्री सिंहले मन्त्रालयले फोहरमैला व्यवस्थापन ऐन, २०६८ संशोधन मस्यौदा परिमार्जन गर्ने कार्य गरिरहेकोसमेत जानकारी दिए ।
यसैगरी उनले जनता आवास कार्यक्रम हाल प्रदेश सरकारमा हस्तान्तरण भई कार्यान्वयनमा रहेको जानकारी गराए । “भौगोलिक रूपमा विकट र विपद्को उच्च जोखिमयुक्त स्थानका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने र असहाय तथा सीमान्तकृत समुदायलाई व्यवस्थित बस्तीमा स्तरोन्नति गर्ने भनेर पूर्ववर्ती सरकारले गरेको निर्णयबाट हालको सरकार पछि हटेको छैन”, उपप्रधानमन्त्री सिंहले भने ।
उनले २०७२ सालको भूकम्पपश्चात् पुनर्निर्माणका लागि गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, भवन तथा आवासमार्फत कार्यान्वयन भइरहेको जानकारी दिए । रासस/file photo




प्रतिक्रिया