काठमाडौं, ४ भदौ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको पदमुक्तको प्रस्ताव दर्ताका लागि सत्तारुढ दल कांग्रेस–एमालेले आ–आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । रानाले पदअनुकूल आचरण नगरेको भन्दै सत्तारुढ दल कांग्रेस–एमालेले उनलाई हटाउन हस्ताक्षर संकलन गरेका हुन् । नेपालको संविधानको धारा ९१ (६) (ग) मा सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदमुक्त हुने व्यवस्था रहेको छ ।
वि.सं. २०७९ माघ ७ गते उपसभामुख निर्वाचित रानाले २०७९ फागुनमा भिसा सहजीकरणका लागि नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिईन् । उनले लेखेको पत्र डेढ वर्षपछि २०८० साउनमा बाहिरिएको थियो । रानाको दल र संसद्सँग समेत सम्बन्धित नरहेका व्यक्तिको भिसा प्रक्रियाका लागि पदको दुरुपयोग भएको भन्दै त्यसबेला पनि कांग्रेससले प्रश्न उठाएको थियो । सोही पत्रलाई लिएर उपसभामुख रानालाई हटाउन यसअघि पनि प्रयास भए पनि संसद्को अङ्कगणितको कारण रोकिँदै आएको थियो ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले यो विषय अब उपसभामुख राना नेपाल फर्किएपछि उनकै उपस्थितिमा छलफल गरेर अगाडि बढ्ने बताउँछन् । उपसभामुख राना हाल अमेरिका भ्रमणमा छिन् । एमाले प्रमुख सचेतक बर्तौलाले उपसभामुख रानाले आफ्ना गतिविधि, भ्रमण, भेटघाटबारे कुनै जानकारी नगराउने गरेको बताए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले लामो समयदेखि भिजिट भिसा प्रकरण उठाइरहेको अवस्थामा आफ्नै दलबाट निर्वाचित उपसभामुख रानाको बारेमा चाहिँ के धारणा छ भनेर आफूहरुले यो विषय उठाएको उनले बताए । रास्वपाले भिजिट भिसा र मानव तस्करीको विषयमा संसद्मा लगातार नारा लगाइराखेको र यो विषयसँगको लिगेसी के छ त भनेर आफूहरुले छलफल गरेको उनले बताए ।
‘उहाँले आफ्ना गतिविधिहरु, भ्रमणहरु होस्, भेटघाटहरु होस्, दुई पक्ष, बहुपक्ष, देशको हितमा गरेका कयौं छलफलहरु भए होलान् । संसदीय हित प्रवर्धन गर्ने छलफल भए होलान् । त्यो भन्नुपर्छ । यस्ता कुराहरु केही पनि नभनी भइरहेका गतिविधि र हिजो उठेको प्रसंग चाहिँ अहिले रास्वपाले जारी राखेको आन्दोलनसँग, उहाँहरुले भनेको भिजिट भिसा प्रकरण वा मानव तस्करी के हो त यो ? भन्ने छलफल भएको हो । रास्वपाका साथीहरुले एउटा प्रकरणमा आन्दोलन, विरोध गरिरहनुभएको छ । लामो समय भयो । त्यसले संसद्मा पनि कता–कता हामीलाई अप्ठ्यारो महशुस भइसक्यो । अनि उपसभामुखज्यूको यी शृङ्खलाहरु के हुन्छ त ? उहाँहरुले चाहिँ यसलाई के भन्नुहुन्छ त ? उहाँहरुले आफ्नो मामिलामा चाहिँ कसरी बोल्नुहुन्छ ? आरोप लगाउन मात्रै, सरकारलाई कमजोर देखाउनेमात्रै यो ठीक हो कि होइन भन्ने प्रसंगमा उपसभामुख जोडिएर छलफल भएको हो,’– नेता बर्तौलाले भने ।
नेता बर्तौलाले उपसभामुख रानाको अहिलेको अमेरिका भ्रमण पनि आफूहरुलाई कुनै जानकारी नरहेको बताए । विगत एक डेढ वर्षको बीचमा उपसभामुख रानाको विभिन्न देशहरुमा भ्रमण भएको भए पनि उनी निजी मामिलाबाट गइराखेको नेता बर्तौलाले बताए । ‘उहाँको अन्तर्राष्ट्रिय भ्रमणको बारेमा प्रश्नहरु उठिराखेका छन् । विभिन्न देशमा जानुहुन्छ । कसको निमन्त्रणामा, कसको अनुमतिमा, अनि कसको फन्डिङमा ? अहिले उहाँ अमेरिकामा हुनुहुन्छ । संसद्का कोही सदस्यहरु उहाँको साथमा हुनुहुन्न । सामान्यतः संसद्को सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्षको भ्रमणमा यो विषय उठ्ने गर्छ । उहाँ कहाँ–कहाँ जानुहुन्छ ? किन जानुहुन्छ ? कसको सौजन्यमा जानुहुन्छ त ? अनि उहाँको साथमा को–को जानुहुन्छ, उहाँले के–के बोल्नुहुन्छ ? यो प्रश्न उहाँमाथि छ,’– उनले भने ।




प्रतिक्रिया