चित्रबहादुर केसीको दाबीः उपसभामुख रानालाई हटाउने प्रस्ताव पारित हुँदैन (भिडिओसहित)


काठमाडौं, ४ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव पारित नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्तारुढ दल नेपाली कांग्रेसमा एकमत नभएको कारण पास नहुने बताएका हुन् । उनले यस प्रकरणलाई बार्गेनिङको संज्ञा दिए । ‘कांग्रेस एउटा छैन । यो पास हुँदैन,’– उनले भने ।

नेता केसीले अहिले कांग्रेस, एमाले, माओवादी कसैले पनि सिद्धान्त र राजनीतिक निष्ठाको आधारमा राजनीति नगरेको उनको भनाइ छ । उनीहरुले केवल आफू सत्ता र शक्तिमा पुग्ने हतियार प्रयोग गरिराखेको उनको भनाइ छ । ‘सिद्धान्तको राजनीति गर्दैनन्, निष्ठाको राजनीति गर्दैनन् । कुन बेला के कुरा उठाउँदाखेरी फाइदा हुन्छ । संसद्भित्रको राजनीतिक पार्टीहरुमा आएको भ्रष्ट विचलनको प्रवृत्ति हो यो,’– उनले भने ।