कांग्रेस-एमालेलाई सन्तोष परियारको जवाफः इन्दिरा रानाले जति अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईंहरु जति उफ्रे पनि त्यतिमाथि पुग्न सक्नुहुन्न


काठमाडौं, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य सन्तोष परियार सांसदहरुको विवेकलाई बन्दी बनाएर हस्ताक्षरमा परिणत नगर्न नेकपा (एमाले) र नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले निहित राजनीतिक स्थार्थ पूरा गर्ने उद्देश्यले उपसभामुख इन्दिरा रानालाई हटाउने खेल बन्द गर्न आग्रह गरेका हुन् । पदीय आचरण अनुकूल काम नगरेको आरोपमा उपसभामुख रानालाई हटाउन भन्दै कांग्रेस–एमालेले आ–आफ्ना सांसदको हस्ताक्षर संकलन गरेका थिए । सोही प्रसँग जोड्दै नेता परियारले उपसभामुख रानाले पाएको अन्तर्राष्ट्रिय सम्मानलाई सम्मान गर्दै आफूहरुले उनलाई उपसभामुख बनाएको बताए । उनले कांग्रेस–एमालेका नेताहरु जति उफ्रे पनि उपसभामुख रानाले जस्तो अन्तर्राष्ट्रिय सम्मान पाउन असम्भव रहेको बताए ।

‘एउटा जनजाति महिला, रास्वपाले उहाँको सम्मानलाई सम्मान गर्दै, अन्तर्राष्ट्रियस्तरमा उहाँले पाउनुभएको सम्मानलाई सम्मान गर्दै हामीले माननीय उपसभामुखज्यूलाई यो लोकतन्त्रमा, तपाईँहरुले ल्याएको भनिएको यो लोकतन्त्रमा सदनमा भित्र्याएका हौं । उहाँले जति अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रे पनि त्यतिमाथि पूग्न सक्नुहुन्न,’– उनले भने ।

उनले कांग्रेस–एमालेले सदनको तेजोबध गरेको, उपसभामुखजस्तो पदलाई अबमूल्यान गरेको र सधैं लखेटिरहेको बताए । यो देश र व्यवस्था आउने पुस्ताको लागि पनि चाहिने बताउँदै कांग्रेस–एमालेलाई गम्भीर भइदिन आग्रह गरे । ‘नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु कृपया गम्भीर भइदिनुस् । यो देश आउने पुस्तालाई चाहिन्छ । यो लोकतन्त्र आउने हजारौ पुस्तालाई चाहिन्छ । यो व्यवस्था नेपाली जनतालाई चाहिन्छ । आज तपाईँहरुको निहित स्वार्थका लागि यो व्यवस्थामाथि यति ठूलो आक्रमण नगरिदिनुस्,’– उनले भने ।

साथै, उनले नेपाली कांग्रेसका नेता विपी कोइराला लोकतन्त्र बचाउनका निम्ति आफू हार्न तयार भएको र जननेता मदन भण्डारीले पार्टीभित्र सामन्तवाद हाबी भयो हामीलाई उँभो लाग्न दिँदैन भनेको नविर्सन पनि कांग्रेस–एमालेका नेताहरुलाई आग्रह गरे । ‘म विपी कोइरालालाई सम्झन चाहन्छु– लोकतन्त्र बचाउनलाई हार्न तयार हुने विपीलाई फर्केर हेर्नुस् नेपाली कांग्रेसका नेताहरु । म कमरेड मदन भण्डारीलाई सम्झना चाहन्छु– सामन्तवादमात्रै होइन, पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीलाई उभो लाग्न दिँदैन भन्ने सम्झन म नेकपा (एमाले) का नेताहरुलाई आग्रह गर्न चाहन्छु,’– उनले भने । File Photo/RN