उपसभामुखलाई किमार्थ हटाउन दिन्नौं : पौडेल


काठमाडौं, ४ भदौ ।  नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले कानून निर्माणमा गम्भीर विवाद सिर्जना गरेको र एकलौटी प्रभाव जमाउन कोशिस गरेको भन्दै त्यसको जमेर प्रतिवाद गर्ने चेतावनी दिए । उनले भने,‘नागरिकको गोपनियतामाथि गम्भीर आघात पुग्ने प्रकृतिको कानून जो मस्यौदा भएर अघि बढ्दैछ, फोनकल, मेसेज, सहज कुराकानी, सम्वाद, भिडिओजस्ता व्यक्तिगत अधिकारसँग सम्बन्धी गोपनियताको विषय ट्यापिङ गर्ने कानून बनाउँदैछ, त्यसको म गम्भीर निन्दा गर्दछु । नेपालमा प्रेसको पनि सहभागितामा आन्दोलन भएको हो, र त्यो आन्दोलनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो । नागरिकको सूचना प्राप्त गर्न अधिकारलाई कुण्ठित गर्ने, नागरिकको गोपनियता तलमाथि गर्न पाईँदैन् ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको कुलिङ पिरियडको सवालमा पनि त्यस्तै गल्ती गरिएको भन्दै आपत्ति जनाउ । उनले भने,‘त्यतिवेला मुख्यसचिवले भैलो खेल्नुभयो । कुलिङ अफ पिरियड गायब भयो । विवादित बनाईयो । भूमि विद्येयक त्यस्तै विवादित बनाईयो कानूनसमेत सरकारले परिपक्वता पूरा गरेन । एकलौचाटी प्रभाव जमाउने काम गर्यो । शोभनीय क्रियाकलाप छैनन् । सरकारको यी क्रियाकलापको हामी डटेर सामना गर्छौं ।’

उनले सरकारले जनताका समसामयिक र डेलिभरीको विषयमा गम्भीर नबनेको आरोप लगाए । उनले भने,‘सरकारले जनतालाई राहत दिने काम गर्ने हो कि झन थप विवादित बनाउने हो ? विवादित कुरामा हात हालेर, तीन महिनापछि स्वतः अवकाश हुने कुलमानमाथि सरकारले हात हाल्यो । सरकारले बागमती प्रदेशमा बहादुर सिंह लामामाथि कू गरेको छ, स्थायित्वको खोजी भयो कि बहादुरलाई हटाईयो ? अराजकता सिर्जना गर्ने काम भयो । त्यही श्रृंखलामा इन्दिरा रानामाथि बज्रपात गरिएको छ, उहाँले त दूतावासमा अन्तर्वार्ताको लागि समय मागेको हो । यसलाई सामान्य गल्तीको रुपमा बुझ्न सकिन्छ । देशको राजनीति नै तरंगति हुनेगरि हिजो कांग्रेस र एमालेका सांसदहरुको दौडादौड सुरु भयो । देशमा भयानक केही हुँदैछ जस्तो गरियो, तर सरकार पक्षकै सांसदले दुई वटा कुरा गरेका छन् । हस्ताक्षरको उद्देश्यपनि भन्नुभएन । यसरी सुशासन हुँदैन ।’

उनले वर्तमान सरकार गठन भएको संविधान संशोधनको लागि भनिएको भएपनि अहिलेसम्म यसको प्रक्रिया किन अघि बढाईएन भनेर प्रश्न गरे । उनले भने,‘यो सरकार गठनको उद्देश्य नै सुशासन दिन हो, आर्थिक चलायमानको लागि भनिएको छ, सरकारले सुशासन र डेलिभरीको कहाँ काम गर्यो ? सरकारले बेथिति निम्ताउँदैछ । पूर्वाग्रह साँध्दैछ । अहिलेको सरकारले डेलिभरी दिनेतर्फ विल्कुल सोचेन । उपसभामुखलाई अपमान गर्ने काम लोकतन्त्रविपरित छ, यो त अराजकता हो ।’

सरकार कुनैपनि विषयमा गम्भीर नभएको उनको आरोप छ । राष्ट्रिय महत्वको विषयमा सरकारले सर्वदलीय बैठक पनि नबोलाएको उनको आरोप छ । उनले संसदमा प्रतिपक्षी दलहरुले लामो समयदेखि भिजिट भिसाको विषयमा आन्दोलन र नराबाजी गरेको भएपनि सरकारले वार्ताको लागि नबोलाएकोमा आक्रोश पोखे । उनले भने,‘सरकारले त नागरिकका कुरा सुन्नुपर्छ । कानून बनाउने कुरामा बेथिति देएिको छ, मुलुकको अर्थ प्रणाली अघि बढाउने कुरामा बेथिति छ । प्रदेशमा हेर्नुभयो होला सत्तापक्षका सबै सांसदहरुले बजेट च्यात्नुभयो । संघमा ९० प्रतिशत सांसदहरुले बजेटमा भरिएको अंकको विरोध गर्नुभयो ।’

उनले संवैधानिक परिषद्मा बहुमत चाहिएकोले कांग्रेस र एमालेले उपसभामुख हटाउन खोजेको आरोप लगाए । तर, कांग्रेस र एमालेलाई यो गलत उद्देश्य आफूहरुले कुनैपनि हालतमा पूरा हुन नदिने पौडेलको दाबी छ । उनले भने,‘उहाँहरुले एकजनालाई उपसभामुख बनाएर केही हुँदैन । उहाँहरुलाई त संवैधानिक परिषद्मा बहुमत चाहिएको छ । तर, हामी किमार्थ हुन दिँदैनौं । डटेर प्रतिवाद गर्छौं । बाहिर पनि प्रतिवाद गर्छौं । अनुशासनमा बसेर प्रतिवाद गर्छौं । संविधानअनुसार अघि बढ्छौं ।’