काठमाडौं, ४ भदौ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का प्रभावशाली नेता ऋषिकेश पोखरेलले कांग्रेस र एमालेको वर्तमान सरकारले कुनैपनि हालतमा गलत कानून नल्याउने प्रत्याभूति गराएका छन् । उनले भने,‘कांग्रेस र एमालेको सरकारले गलत कानून ल्याउँछ भन्नु नै गलत हो । सञ्चार जगतलाई लोकतन्त्रान्त्रिक, मर्यादित र व्यवसासयक बनाउन आवश्यक छ । सञ्चार क्षेत्रभित्र काम गरेका सम्पूर्ण मिडियाकर्मीहरुले एउटा सभ्य र इमानदार नागरिक भएर उभिने कानून निर्माण हुन्छ ।’
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पोखरेलले लोकतन्त्र भनेको अराजकता र अफवाह नभएको टिप्पणी गरे । उनले भने,‘लोकतन्त्र भनेको संगठित प्रहार होईन । तपाईंको अधिकार पनि मैले सुरक्षित गर्न सक्नुपर्छ । हाम्रो सरकारलाई जनताको अधिकार कुण्ठित गर्छ, सूचनाको हक कुण्ठित हुनेगरि कानून ल्याउँछ भनेर अनुमान गर्नु नै कुण्ठा हो ।’
कुलिङ पिरियडको सवालमा राष्ट्रियसभामा एमालेका सांसदहरुले हालेको संशोधनको विषयमा त्यो जनप्रतिनिधिले आफ्नो विचार राखेको भनेर उनी पन्छिए । उनले भने,‘प्रतिनिधिसभा पास गरेको विषयमा प्रतिबद्ध छ । शिक्षा विधेयक छलफलमा छ । समितिका छलफलका रेकर्ड हेर्नुहोस । यो विद्येयक यसअघि किन अघि बढ्न सकेन ? अहिले अर्को सरकारले यो विद्येयक आवश्यक छ भनेर अघि बढायो । यो विषय अरु साथीहरुलई अरुचि भयो । यसरी नागरिकलाई भ्रमित गर्ने कुरा बेठिक छ ।यो सदनले निजामती र शिक्षा विद्येयक अघि बढाउँछ । सदनमार्फत यो पास हुन्छ ।’
उनले हिजो गरेको हस्ताक्षरको विषयमा दलको आदेश पालना गरेको बताए । उनले भने,‘संसदीय व्यवस्थामा जब दलले आफ्ना जनप्रतिनिधिहिरुलाई बोलाउँदा जानुपर्छ । सांसद स्वतन्त्र हुँदैनन् । दलको मातहतमा हुन्छन् । सांसदले बोल्ने दलीय कुरा नै हो । दल भन्दा माथि म छु भनेर कसैले ठानेको छ भने त्यो अराजकता हो ।’
उनले उपसभामुख इन्दिरा रानालाई दूतावासलाई चिठ्ठी किन लेखेको भने सोध्न नपाउने हो ? भन्दै प्रश्न गरे । उनले भने,‘अहिले भिजिट भिसाको यत्रो विघ्न कुरा छ । रास्वपा नै आन्दोलनमा छ । उपसभामुखले अमेरिकी राजदूतवासमा चिठ्ठी लेखेकै हो । किन लेखेको हो भनेर सोध्न नपाउने ? यो लोकतन्त्रमा त्यति पनि गर्न नपाउने हो ? यदि यो गलत रहेछ भने यो दण्डनीय विषय हो । बेइमानी कसैले गरेको छ भने दण्डित गर्नुपर्छ । यो कुरा सत्तापक्षले कुरा उठाउँदै किन तर्सिनुभयो । अझै धेरै छलफल गर्न आवश्यक रहेछ ।’
उनले कांग्रेस र एमालेले हिजो गरेको हस्ताक्षरको प्रयोजनबारे भएको चर्चालाई भ्रम नछर्न भनेका छन् । उनले भने,‘अनुमानको भरमा जनतालाई भ्रमित बनाउने काम नगरौं । संकल्प प्रस्ताव दर्ता हुन्छ कि, सार्वजनकि महत्वको प्रस्ताव पो दर्ता हुन्छ कि, कसलाई थाहा छ ? भोलि कुन रुपमा त्यो प्रस्तुत हुन्छ, अनि थाहा हुन्छ । मैले हस्ताक्षर गरेको छु । हाम्रो दलको भेलामा उपस्थितिमा हस्ताक्षर गरेको छु । भोलि कुन रुपमा अघि बढ्छ ? अनि थाहा हुन्छ।’ उनले आजका प्रवृत्ति बदल्न जरुरी रहेको आवश्यकत्ता औंल्याए । उनले भने,आजको जे प्रवृत्ति छ, त्यो बदल्न जरुरी छ । नत्र बदलिएको नेपाल प्राप्त गर्न कठिन छ ।’




प्रतिक्रिया