काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकारले प्रतिशोधपूर्ण र निरङ्कुश व्यवहार प्रदर्शन गरिराखेको बताएका छन् । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन कांग्रेस–एमालेले आ–आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको सन्दर्भ उल्लेख गर्दै उनले सरकारले संवैधानिक परिषद्मा बहुमत पुर्याएर संवैधानिक निकायहरुलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको बताएका हुन् । सरकारले संवैधानिक निकायलाई आफ्नो नियन्त्रणमा राखेर स्वेच्छाचारी तवरले राज्य सञ्चालन गर्न खोजेको उनले बताए ।
‘अहिले सरकार जे गर्न खोज्दै छ, यो प्रतिशोधपूर्ण र निरङ्कुश व्यवहार प्रदर्शन गरिराखेको छ । सिधै कुरा छ त– संवैधानिक परिषद्मा सरकारलाई बहुमत चाहिएको छ । संवैधानिक परिषद्मा बहुमत लिएर संवैधानिक निकायहरुलाई आफ्नो नियन्त्रणमा राख्ने अनि स्वेच्छाचारी तबरले राज्य सञ्चालन गर्ने । यो कुरा त दिनको घामजस्तै उज्यालै छ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
साथै, उपसभामुख रानालाई पदबाट हटाउने कुराको कांग्रेसकै नेताहरुले समेत विरोध जनाइरहेको बताउँदै उनले यो रणनीति पूरा नहुने दाबी गरे । उनले भने, ‘आज कांग्रेसकै नेताहरुको सार्वजनिक रुपमा जे कुरा सुनिराखेका छौं, उहाँहरुको चाहना त छ । कोशिस त गरिराख्नुभएको छ । तर, सफल नहुने छाट देखिँदैछ ।’
साथै, उनले अहिले माओवादीको प्राथामिकतामा सरकार नरहेको र आफूहरुले सरकार ढाल्ने कुनै चलखेल नगरेको उनले बताए ।




प्रतिक्रिया