कांग्रेस संसदीय दलको बैठकमा उपसभामुख हटाउनेबारेमा कुनै छलफल भएको छैनः राजेन्द्र केसी


काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसीले उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा पार्टी संसदीय दलमा कुनै प्रकारको छलफल नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख हटाउने प्रस्ताव कसरी आयो भन्ने कुरा आफूलाई थाहा नभएको बताएका हुन् । अहिले उपसभामुख हटाउनका लागि आवश्यक पर्ने १८४ मत पनि कठिन रहेको र पार्टी महामन्त्री गगनकुमार थापाले संख्या छ भन्दैमा लोकतन्त्रमा जे पनि गर्न पाइँदैन भनेर अभिव्यक्ति दिइसकेको उनले बताए । उपसभामुख रानालाई हटाउने प्रस्ताव (महाअभियोगको प्रस्ताव) दर्ता होलाजस्तो आफूलाई नलागेको उनले बताए ।

‘महाअभियोगको चर्चा कसरी आयो ? मलाई थाहा छैन । पार्टीमा महाअभियोगको सम्बन्धमा कुनै कुरा नै भएको छैन । अस्ति अचानक हस्ताक्षरको कुरा आयो । त्यो हस्ताक्षर के प्रयोजनका लागि पनि भनिएन । अचानक यो कुरा कसरी आयो । महाअभियोग लगाउने रे । अहिले उपसभामुखज्यू पनि अमेरिकामा हुनु्हुन्छ । एक्कासी यो कसरी डेभलप भयो भन्ने कुरा मैले पनि बुझेको छैन,’– उनले भने ।

नेपालको संविधानको धारा ९१ को (६) (ग) मा ‘पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था रहेको छ । संवैधानिक परिषद्मा कांग्रेसका प्रतिनिधत्व गराएर बहुमत पुर्याउनका लागि सत्तारुढ दल कांग्रेस–एमालेले उपसभामुख रानालाई हटाउन खोजेको चर्चा सुरु भएको छ ।