शिव नेपालीको टिप्पणीः कांग्रेस-एमाले भ्रष्टाचारको ‘भ’ र तस्करीको ‘त’ सुन्न डराए


काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य शिव नेपालीले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानको अपमान गरिराखेको बताएका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करीजस्ता अपराधविरुद्ध कडा कदम चाल्नुको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको बताएका हुन् । मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठूला दलहरु आत्तिने गरेको उनको भनाइ छ । कांग्रेस–एमालेजस्ता ठूला दलहरु भ्रष्टाचारको ‘भ’ सुन्दा डराउने गरेको र तस्करीको ‘त’ सुन्दा काम्ने गरेको उनको टिप्पणी छ ।

साथै, नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गरेको उनको भनाइ छ । सरकारले अब उपसभामुख इन्दिरा रानामाथि अंकगणितीय खेल खेलिरहेको उनले बताए । उनले यसलाई लोकतन्त्रको अपमानको संज्ञा दिए । ‘नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गर्यो । अब आदिवासी जनजाति समुदायकी छोरी उपसभामुख इन्दिरा राना मगरमाथि अंकगणितीय खेल खेल्दैछ । यो भन्दा ठूलो लोकतन्त्रको अपमान के हुनसक्छ ?’ प्रश्न गर्दै उनले भने ।

उपसभामुख रानाले अन्तरवार्ताको लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र कहीँ कतै दर्ता पनि नरहेको र कार्यान्वयन पनि नभएको उनले बताए । त्यसलाई लुकाएर बद्नियतपूर्वक १७ महिनापछि सार्वजनिक गरिएको उनले बताए । अहिले आएर सोही पत्रलाई राजनीतिक हतियार बनाइएको उनको दाबी छ ।

‘त्यो पत्र कहीँ–कतै दर्ता छैन । कार्यान्वयन भएको पनि छैन । भिसाको लागि सिफारिस भएको पनि होइन । तर, त्यसलाई १७ महिना लुकाएर २०८१ साउनमा बदनियतपूर्वक सार्वजनिक गरियो । यदि त्यो गलत थियो भने त्यसैबेला कारबाही किन भएन ? अहिले आएर किन राजनीतिक हतियार बनाइयो ?’ प्रश्न गर्दै उनले भने ।

उनले उपसभामुखजस्तो गरिमामय पदलाई बारम्बार खेलौना बनाउने काम भएको बताए । उपसभामुख पदमाथि पटक–पटक प्रश्न उठाउनु अनुचित रहेको उनको भनाइ छ । उनले यसलाई राजनीतिक खेलको संज्ञा दिँदै बन्द गर्न आग्रह गरे ।

नेता नेपालीले मानव तस्करीको जालो नभत्किएसम्म, दोषी कानूनी कठघरामा नउभ्याइएसम्म र पीडितले न्याय नपाइएसम्म रास्वपाले सुरु गरेको संघर्ष जारी रहने र सदन बहिस्कार गरिराख्ने बताए ।

त्यस्तै उनले नेपाली भू–भाग कालापानी र लिपुलेकको सन्दर्भमा आम सञ्चारमाध्यममा आइरहेको विषयहरुमा पनि सदनको ध्यानाकर्षण गराए । उनले नेपाली भू–भागको संरक्षण गर्न सरकारले यथाशीघ्र पहल गर्नुपर्ने बताए । ‘लिपुलेक र कालापानीको भू–भाग छिमेकी देशहरुले प्रयोग गर्ने भन्ने विषय आम सञ्चार माध्यमहरुमा आएको छ । नेपालको भू–भागको संरक्षण गर्न नेपाल सरकारले यथाशीघ्र पहल गर्नुपर्ने छ भन्ने विश्वास हामीले लिएका छौं,’– उनले भने ।