प्रधानमन्त्री ओलीलाई गगनको सुझाव : अहिले सबै राम्रो भएको छैन, गति मिलेको छैन (भिडिओसहित)


काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले राम्रो नभएको दाबी गरेका छन् । उनले भने,‘यो बेलामा आफ्नो वरिपरि बसेर सबैले ताली बजाएर राम्रो भएको छ प्रधानमन्त्रीज्यू, राम्रो भएको छ भने भने, पहिला पहिला राजा महाराजाहरुले सबैले दूधभात खाएका छन् भनेजस्तो हो । राम्रो भएको छैन । गति मिलेको छैन । मति मिलेको छैन् ।’

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले जनताले सरकारको कामबाट चित्त नबुझाएको दाबी गरे । सरकारको काम गर्ने ढंगसमेत नपुगेको उनको दाबी छ । तर, अहिलेपनि काम गर्नको लागि समय भएको बताए । उनले आलोचनाको गहिराईमा गएर काम गर्न पनि सुझाए ।

उनले हिजो सुरुवात गरेको सुधारको कामलाई तत्काल सुरु गर्नको लागि सरकारलाई सुझाव दिएका छन् । कांग्रेस–एमालेको सरकार सुशासनलगायतका कतिपय कुरामा चुकेको पनि थापाको दाबी छ । र, यो सत्यलाई स्विकार गर्नुपर्ने उनको मत छ ।