काठमाडौं, ५ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले रोक्न खोजे पनि निरन्तर नेकपा (एमाले) को कार्यकर्ता भएर काम गरिरहने बताएकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो,’– उनले भनिन् ।
साथै, उनले ठूला दलहरुले राजनीतिक प्रणालीलाई जसरी अगाडि बढाउनुपर्ने हो, त्यो गर्न नसकिराखेको बताईन् । पूर्व राष्ट्रपति भण्डारीले अहिले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको बताईन् । ‘यतिधेरै उद्योग धन्दाहरु खुल्नुपर्ने देशमा किन उद्योगधन्दाहरु खुल्न सकिराखेका छैनन् ? हामी आयातमा निर्भर हुन परिराखेको छ । हाम्रो देशको अर्थतन्त्र– खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकिराखेको छ । आयातमा आधारित भन्सारमा चलिराखेको छ । व्यापार घाटा भइराखेको छ । वैदेशिक ऋण बढिराखेको छ । यो दीगो विकासको लागि अत्यन्त दुःखदायी कुरा हो,’– उनले भनिन् ।




प्रतिक्रिया