लिपुलेकबाट व्यापारिक नाका खोल्ने सन्दर्भमा भारत र चीनले नेपाललाई पक्ष मानेर विश्वासमा लिन सक्नुपर्छः लोसपा महासचिव डा.झा


काठमाडौं, ६ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले लिपुलेकबाट नाका खोल्ने सन्दर्भमा भारत र चीनले नेपाली नागरिकको भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता डा.झाले लिपुलेकबाट व्यापारिक नाका खोल्ने विषयमा भारत र चीनले नेपाललाई पक्ष मानेर विश्वासमा लिनसक्नुपर्ने बताएका हुन् ।

‘हामी गम्भीर हुनुपर्छ । दुईवटै छिमेकी मुलुकसँग नेपालको राम्रो सम्बन्ध छ । अहिले व्यापारिक गतिविधि बढाउने भनेर उहाँहरुले एउटा सहमति गर्नुभएको छ । दुईवटा विशाल देशहरु, जसले नेपाललाई माया गर्छ र नेपाल पनि समदुरीमा सम्बन्ध कायम राखेको छ । यति ठूलो विषय उहाँहरुले सहमति गर्दैगर्दाखेरी नेपाल, नेपाल सरकार र नेपाली नागरिकहरुको भावनालाई पनि उहाँहरुले सम्बोधन गर्न सक्नुपर्थ्यो । यो सहमतिमा नेपाललाई पनि एउटा पक्ष मानेर उहाँहरुले विश्वासमा लिन सक्नुपर्थ्यो । त्यो भएको छैन । उहाँहरु मिल्नुभयो, त्यो भूमिमा हाम्रो दाबी रहँदै आएको छ । नेपालको सार्वभौम संसद्ले त्यो कुरालाई पारित गरेको छ,’– उनले भने ।

यसअघि संसद्ले पारित गरेको नयाँ नक्सा कागजमा मात्रै सीमित भएको उनले बताए । आफ्नो भूमि हो भनेको आधार क्षेत्रमा नेपालले केही पनि गर्न नसकेको उनले बताए । त्यतिबेला कूटनीतिक रुपले पहल नभएको उनको भनाइ छ । त्यतिबेला सरकारको काम गराइको ढंग नपुगेको र कूटनीतिक रुपमा असफल भएको उनले बताए ।