काठमाडौं, ६ भदौ । नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भदौ ९ गतेदेखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने महासंघको चेतावनी छ ।
महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसैगरी, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने, भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शनलगायतका कडा कार्यक्रम ल्याउने महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँग आफूहरुले गरेको २७ बुँदे सहमति नै बटमलाईन भएको र सो अनुसार सरकारले आफ्ना माग पुरा नगरेको बताए । उनले अबको आन्दोलनबारे बोल्दै भने, ‘अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुन्छ ।’
उनले अहिलेकै अवस्थामा विद्यालय शिक्षा विधेयक पारित नहुने बताए । ‘यत्तिकै यो पास हुँदैन । अब प्रतिनिधिसभामा समितिले बुझाउँछ । त्यसपछि त्यसको अझै हामी आधिकारिक अध्ययन गर्छौं । त्यो दस्तावेजका सबै अक्षर–अक्षर हामी पढ्छौं । यी कुरा भए, यी कुरा भएनन् भनेर हामी महासंघको तर्फबाट सार्वजनिक गर्छौं,’– उनले भने ।




प्रतिक्रिया