काठमाडौं, ६ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारीलाई झुक्याएर सदस्यता नवीकरणको रसिद काटेको आरोप लगाएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारी झुक्याएर रसिद काट्दैमा छोडेको सदस्यता नवीकरण नहुने बताएका हुन् । भण्डारीले राष्ट्रपति हुनेबेला २०७२ सालमा सदस्यता परित्याग गरेको उनले बताए । सदस्यता छदै छैन भने नवीकरणको प्रश्न नै नआउने उनको तर्क छ ।
‘कसैको सदस्यता खोसेको पनि छैन । खोस्नुपर्ने आवश्यकता पनि छैन । पूर्व राष्ट्रपतिजीको सम्बन्धमा तपाईँहरुमा पनि भ्रम नपरोस् । उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुनेबेलामा उहाँले परित्योग गर्नुभएको हो । परित्याग गरेर नै राष्ट्रपति हुन जानुपर्छ, सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे, होला कर्मचारीले त रसिद काट्दिन्छ । त्यसरी लिने होइन । सबैलाई थाहा छ, उहाँले छोडेको सदस्यता । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यतामात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’ प्रश्न गर्दै उनले भने ।
अध्यक्ष ओलीले भण्डारीलाई उतिबेला पार्टी सदस्यताभन्दा राष्ट्रपति पद प्यारो भएको बताए । राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि भण्डारीले सदस्यताको लागि पार्टीमा कुरा पनि नगरेको र नयाँ सदस्यता लिने प्रक्रियामा समेत नगएको उनको दाबी छ । दर्ता चलानी फाँटबाट शुल्क तिरेर सदस्यता नवीकरण भनेर शुल्क तिर्दैमा सबैले पार्टी सदस्ता नपाउने उनले बताए ।
‘राष्ट्रपति हुन नजानुपर्थ्यो नि त ? मेरो सदस्यता, प्यारो सदस्यता, म त्यसैमा बस्छु, जान्न राष्ट्रपति हुन भन्नुपर्थ्यो नि त । त्यसबेला चाहिँ छोडेर जानुभयो राष्ट्रपति हुन । अनि आएपछि सदस्यता छैन । नभएको सदस्यता नवीकरण हुँदैन । पार्टी सदस्यतालाई निरन्तरता दिने हो भने उहाँले पार्टीमा कुरा गर्नुपर्थ्यो । उहाँले पार्टीमा कुरा गर्नुभएको छैन । पार्टीले निर्णय गरेको छैन । नयाँ सदस्यताको प्रक्रियामा पनि आउनुभएको छैन । पार्टीमा केही भन्नुभएको छैन । कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण भनेर शुल्क तिर्दैमा सबैले सदस्यता पाउँछन् भन्ने छ ? यो भ्रममा साथीहरु कोही नपर्नु होला । पार्टीले किन खोस्नु । थिएन, त्यसकारण खोस्नु नै परेन,’– उनले भने ।




प्रतिक्रिया