समाजवादी मोर्चाले भन्यो : लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो (विज्ञप्तीसहित)


काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाले हालै भारत र चीनले व्यापारिक नाका खोल्ने भनेर गरेको सहमतिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्र राय यादवले आज संयुक्त रुपमा जारी गरेको वक्तव्यमार्फत भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पूनःस्थापना गर्ने समझदारी भएकोप्रति मोर्चाको गम्भीर रुपमा ध्यान आकर्षित भएको उल्लेख गरेका छन् ।

मोर्चाले ऐतिहासिक प्रमाण र द्धिपक्षीय सन्धिहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गर्ने पनि दाबी गरेको छ । नेपालको अभिन्न भूभागका रुपमा रहेका ती क्षेत्रहरुमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी रहेको मोर्चाको दाबी छ ।

विज्ञप्तीमा भनिएको छ,‘यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरु हुन सकेका छैनन् । यसैबीच लिपुलेकबारे भारत चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ ।’ मोर्चाले सरकार सरकारलाई नेपालको भूभाग फिर्ता ल्याउन पलह गर्न आह्वान गरेको छ ।