काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौं जिल्लामा मात्रै एक लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमित भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसरी जग्गा अतिक्रमित गर्नेहरुमा शक्तिशाली मान्छेहरु रहेको बताएका हुन् । एक लाख रोपनी अतिक्रमित जग्गामध्ये सुकुम्बासी बस्तीले ५/७ सय रोपनीमात्रै ओगटेको उनले बताए ।
‘कम्तिमा काठमाडौंमा अतिक्रमित भएको सरकारी जग्गा एक लाख रोपनी छ । सानाले ओगटेको भनेको त खोला किनारमा बस्ने थापाथली, शंखमुल, शान्तिनगर करिब २२ सय परिवार हो । तिनीहरुले भनेको करिब ५/७ सय रोपनीमात्रै ओगटेको छ । बाँकी सबैभन्दा शक्तिशालीले ओगटेका छन्,’– उनले भने ।
यसरी सार्वजनिक जग्गा हड्पिनेहरुमा स्कूल, पेट्रोल पम्प र शक्तिशाली मान्छेहरुको संलग्नता रहेको उनले बताए । बानेश्वरमा रहेको अमर आदर्श विद्यालयले सार्वजनिक जग्गा हडपेर ५ तले बिल्डिङ बनाएको उनले बताए । ‘कतिपय स्कूल छन्, कतिपय पेट्रोल पम्प छन् । यहीँ बानेश्वरमा एउटा स्कूल छ– अमर आदर्श भन्ने । सरकारी जग्गामा ५ तलाको बिल्डिङ छ,’– उनले भने ।
साथै, नेपाल प्रहरीका पूर्व आईजीपीले समेत डेढ रोपनी सार्वजनिक जग्गा हडपेको उनको दाबी छ । ‘पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ । डेढ रोपनीको सेरोफेरोमा हुनसक्छ ।’
साथै, उनले यसरी सार्वजनिक जग्गामा बनेका संरचनाहरु भत्काइने बताए । पूर्व स्वीकृतिबिना कसैले प्रयोग गरेमा उनीहरुको अचल सम्पत्तिमाथि बन्देज लगाउन सक्ने अधिकार प्राधिकरणलाई रहेको पनि उनले बताए ।
जिल्ला आयुक्त बस्नेतले अहिले काठमाडौं जिल्लाका ९४ वटा अवैध प्लटिङ विक्री वितरण रोक्का गरिएको बताए । विगत चार/पाँच वर्षभित्र काठमाडौं उपत्यका भित्र करिब ६ लाख रोपनी जग्गा प्लटिङ भएको र सो जग्गामा कम्तिमा डेढ लाख रोपनी जग्गा राज्यलाई घाटा लागेको उनले बताए ।
त्यसैगरी सरकारी जग्गा हड्पिनेहरुमा पूर्व प्रधानन्यायाधीशदेखि विभिन्न व्यक्ति रहेको बताए । उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको नामबारे भने, ‘हरिभक्तलाल श्रेष्ठ भन्ने हुनुहुन्छ । भिभोर होटल । उहाँले नै पेट्रोल पम्प धोबी खोलामा ओगट्नुभएको छ जमिन २/३ रोपनी । केएन नर्सरी, करिब २३ रोपनी जग्गा विभिन्न व्यक्तिहरुले प्रयोग गर्नुभएको छ । लोयलटी स्कूल, विजय सम्बाहाम्फे, हामीले आग्रह पनि गरिसक्यौं, उहाँहरुले छोड्नुभएको छैन । महादेव खोलामा त मैले सम्पत्ति रोका गरिसकेको छ । त्यहाँ ८ जनाको रोका गरिएको छ ।’
त्यसैगरी बानेश्वरमा नानीबाबु दाहाल नाम गरेका एक जना वकिलले तीन आना जग्गा किनेर चार रोपनी जग्ग अतिक्रमण गरिबसेको उनले बताए । ‘उहाँले तीन आना जग्गा किन्नुभएको छ । चार रोपनी घेरेर राख्नुभएको छ । नानीबाबु दाहाल,’– उनले भने ।




प्रतिक्रिया