काठमाडौं, ७ भदौ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । २०८४ सम्म यो गठबन्धनलाई कायम गरेर जाने र कसैसँग गठबन्धन नगरी चुनाव लड्ने पनि उनले स्पष्ट पारेका छन् ।
नेकपा (एमाले) रामेछापको पाँचौँ पूर्ण बैठकलाई हिजो (शुक्रबार) मन्थलीमा सम्बोधन गर्दै विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी पनि एमाले नै भएको दाबी गरेका छन् । डा.भट्टराईले एमाले सरकारमा हुँदा र अरू सरकारमा हुँदा गरेको काम तुलना गरेर हेर्न चुनौती दिए । ‘हामी कुनै क्षेत्रमा पछाडि परेका रहेछौँ भने कान समातेर उठबस गर्न तयार छौँ’, उनले भने ।
देशको राजनीतिलाई अहिलेको अवस्थासम्म डोर्याएर ल्याउने नेता केपी शर्मा ओली भएको र यसबाट जलन भएकाहरू अहिले एक भएर एमाले र अध्यक्ष ओलीमाथि आक्रमणमा उत्रिएको नेता भट्टराईको भनाइ छ । ‘केपी ओली बिनाको एमाले बनाउन सफल भएको भोलिपल्ट एमाले बिनाको नेपालको नारा आउँछ, केपी ओली विरुद्धको प्रहार एमाले विरुद्धको प्रहार हो, यो एमाले पङ्तीले बुझ्न जरूरी छ’, उनले भने।
पार्टीले गरेका राम्रा कामको चर्चा पार्टीका नेता कार्यकर्ताले गर्न नसक्नु विडम्बना भएको बताउँदै डा. भट्टराईले भने–”विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ ।’




प्रतिक्रिया