एमालेले भन्यो : नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित


काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट गर्दै उनले भने,‘सहमति विना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य छ ।’

प्रेस चौतारी नेपाल दाङले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले नेपालको सहमतिबिना नेपाली भूमि भारत र चीनले प्रयोग गर्ने प्रयत्नलाई अस्विकार्य भनेका छन् । उनले भने,‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति विना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ।’

उनले नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको दाबी गरे । उनले थपे,‘तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।’ सो क्रममा उनले पार्टीको दोस्रो विधान महाधिवेशनका बारेमा जानकारी गराउँदै विधान महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने बताए । विधान महाधिवेशनका सन्दर्भमा यतिबेला पार्टीका साढे छ लाख सदस्य विभिन्न कमिटीका बैठक र भेलामा छलफलमा सहभागी भइरहेको पनि उनले जानकारी गराए ।