काठमाडौं, ७ भदौ । इजरायल र प्यालेस्टाइन युद्धको क्रममा बेपत्ता पारिएका नेपाली नागरिक विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेर फर्किएका छन् । उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन भन्दै इजरायलका प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्रीलगायतलाई भेट गरे । २०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको आक्रमणको क्रममा विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको बताइन्छ । यो क्रममा १० जना नेपालीको ज्यान गएको थियो । त्यसपछि विपिनको अवस्था भने सार्वजनिक हुन सकिराखेको छैन ।
विपिनकी बहिनी पुष्पा आफ्ना दाजु जीवित रहेकोमा विश्वास गर्छिन् । इजरायल पुगेर फर्किएकी उनले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतबाट सहानुभूति पाएको बताईन् । उनले विपिन जीवित नै छन् भन्नेमा आफूहरु आशावादी र भरोसा रहेको उनले सुनाईन् ।
‘हमासले जति पनि मृत्यु भएका मानिसहरु छन्, उनीहरुको नाम सार्वजनिक गर्छ । उसले अगाडिबाट नै त्यो नियम फलो गर्दै आएको छ । मृत्यु भएको सूचीमा दादाको नाम सार्वजनिक गरेको छैन । त्यसैले हामी आशावादी छौं– दादा जीवित हुनुहुन्छ भनेर । भरोसा छ, दादा जीवित छ भनेर । मेरो मन भन्छ मलाई– दादा जीवित छ र छिट्टै फिर्ता आउँछ भनेर,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भनिन् ।
त्यस्तै, विपिनकी आमा पद्माले एक दिन छोरा रिहा हुनेमा विश्वास व्यक्त गरिन् । उनले सरकारले अझ प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याईन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारका राजासँग प्रत्यक्ष संवाद गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरिन् ।
‘एक दिन रिहा होला भन्ने त लाग्छ । त्यही पछि छिटो भइदियो भने । यति महिना भइहाल्यो । उसको अवस्था थाहा छैन । उसले कत्रो पीडा भोगेको होला त्यहाँ । त्यो त नेपाल सरकारले बुझिदिने कुरा हो । अरु सबैले आफ्नो नागरिकको पीडा बुझेर तुरुन्त पहल गरेर ल्याइसके । कुन तरिकाले हुने हो, कहाँबाट हुने हो ? सरकारले बुझ्नुपर्यो । अहिलेसम्म धेरै ठाउँमा फोन संवाद गरेको भन्ने कुरा त हामीले पनि सुनिराखेका छौं । तर, त्यो पनि संवादले हुन सक्दैन जस्तो लाग्छ । कतारको सम्बन्ध हमाससँग राम्रो छ । कतारको राजासँग प्रत्यक्ष संवाद गरेर पहल गर्नुपर्यो । मेरो छोरा विदेशी नागरिक हो । इजरायली होइन । विना शर्त छु्ट्छ,’– उनले भनिन् ।




प्रतिक्रिया