अवैध प्लटिङ रोक्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका बोर्ड सचिवलाई ज्यान मार्ने धम्की


काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यका विकास प्राधिकरणका कानून अधिकृत एवं बोर्ड सचिव घनश्याम पौडेलले अवैध प्लटिङ रोक्दा ज्यान मार्नेसम्मको धम्की आएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अवैध प्लटिङ रोक्दाखेरी ज्यान मार्ने धम्की, विभिन्न चुनौति र अपमान सामना गर्नुपरेको बताएका हुन् ।

‘प्लटिङ रोक्ने हो भने ज्यान मार्ने धम्कीदेखि लिएर, चुनौति, अपमान आएका छन् । तर, हामीले धम्कीलाई धम्कीको रुपमा लिएका छैनौं । जसले धम्की दिन्छ, त्यो धम्कीबाट हामी डराउँदैनौं । धम्की दिनेको हामी तीन पुस्ते नाम प्रकाशन गर्छौं । सामाजिक बहिष्कार गर्ने स्थितिसमेत ल्याइदिन सक्छौं,’– उनले भने ।

प्राधिकरणका अनुसार हाल ९४ वटा विभिन्न अवैध प्लटिङहरुको खरिद–विक्री रोका गरिएको छ । उनले आफूहरु अहिले सार्वजनिक जग्गाको संरक्षणमा लागिराखेको बताए । सार्वजनिक जग्गा संरक्षणका लागि उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको स्पष्ट निर्देशन रहेको उनले बताए । ‘उपप्रधानमन्त्रीज्यूले नै सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्छ, राज्यको सम्पत्ति संरक्षण गरेर अगाडि बढ्नुपर्छ भनेर हामीलाई व्याकअप दिइराख्नुभएको छ । हामीलाई उपप्रधानमन्त्रीको स्पष्ट निर्देशन भएपछि अरु बाधा व्यवधानहरु त सामान्य हुन्,’– उनले भने ।

काठमाडौं उपत्यकाभित्र २० फिटे बाटो र ५ प्रतिशत खुला क्षेत्र कायम गरेरमात्रै घडेरी विकास गर्नुपर्ने नियम गरहेको उनले बताए । अहिले अहिले १० फुटे, १३ फुटे, डाँडाकाँडा खारिएको उनले बताए ।