वास्तविक एकताको महाधिवेशनबाहेक अरू महाधिवेशनमा मेरो नाम समावेश नगर्न आग्रह गर्दछु : संस्थापक अध्यक्ष डा. महतो


काठमाडौं, ७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा आफ्नो नाम समावेश नगर्न आग्रह गरेका छन् ।

आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै महतोले अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन नहुने भन्दै बास्तविक एकताको महाधिवेशनबाहेक आफ्नो नाम कतैपनि समावेश नगर्न अपिल गरेका हुन् ।

डा. महतोले बास्तविक एकताको महाधिवेशनको लागि आफ्नो साथ, सहभागिता र समर्थन रहने विश्वास दिलाएका छन् । उनले भनेका छन्,‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियानपनि हो । यो अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु । संघको गरिमा बढाउनेगरि हुने ‘बास्तविक एकताको महाधिवेशन’मा भने मेरो संलग्नता रहनेछ । यसकोलागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु ।’

यस्तो छ महतोले जारी गरेको वक्तव्य :

मिति : २०८२।०५।०७

प्रेस वक्तव्य
विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले सुरू गरेको गैरआवासीय नेपाली संघले अहिले विषम परिस्थितिको सामना गरिरहेको छ । पछिल्लो समयमा यो अभियानको मूल मर्ममाथि प्रहार भइरहेको महसुस गरेको छु । सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन नसकेको कुरा मैले यसअघि नै वक्तव्यमार्फत स्पष्ट पारिसकेको छु ।

गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियानपनि हो । यो अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु । संघको गरिमा बढाउनेगरि हुने ‘बास्तविक एकताको महाधिवेशन’मा भने मेरो संलग्नता रहनेछ । यसकोलागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु ।

अन्त्यमा, सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु । यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु ।

डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ