भूमि विधेयकको विरोधमा जसपा नेपालले देशव्यापी प्रदर्शन गर्ने


काठमाडौं, ७ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकको विरुद्धमा आगामी भदौ ९ देखि १५ गतेसम्म देशका विभिन्न सहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले राष्ट्रियहीत विपरीत भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न विरोध प्रदर्शन गर्न लागेको बताइएको छ ।

भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई र मधेश मरुभूमिकरण हुने जसपा नेपालको ठहर रहेको छ ।

जसपा नेपालका महासचिव लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराईरमधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शनमा सहभागी भई सहयोग गर्नुहुन जनता समाजवादी पार्टी, नेपाल सम्पूर्ण आमजनसमुदायमा हार्दिक अपील गर्दछ ।’