काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिनसक्ने हैसियत जनार्दन शर्माको नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हैसियत नै नभएकाहरुले प्रचण्डलाई चुनौती दिएर मजाक गरिरहेको बताएका हुन् । ‘यो मजाक भइराखेको छ । चुनौती दिनेको हैसियत चाहिँदैन ? जसको हैसियत छैन, त्यसले कसरी चुनौती दिन सक्छ ?’ प्रश्न गर्दै उनले भने ।
नेता गजुरेलले प्रचण्ड नभए पनि पार्टी चल्छ भन्नेहरुले विचार र नीति अगाडि सार्न नसकेको बताए । उनले विचार, नीति र संगठनमा रहेका समस्याको पहिचान नगरी बुरुक–बुरुक उफ्रिएरमात्रै समस्याको समाधान नहुने बताए । नेता गजुरेलले सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।
जनार्दनले महासचिव मागेको अध्यक्ष प्रचण्डले नदिएपछि अहिले उनले व्यक्तिगत असन्तुष्टिहरु व्यक्त गरिराखेको उनले बताए । नेतृत्वमा आउन वैचारिक र राजनीतिक धरातलमा टेकेर प्रचण्डले भन्दा नयाँ र राम्रा कुराहरु उठाउन सक्नुपर्ने उनको भनाइ छ । उनले प्रचण्डको जस्तो हैसियत जनार्दनले देखाउन नसकेको बताए ।
‘प्रचण्ड युवा उमेरमै नेता बन्नुभयो । ३५ वर्षको उमेरमै । अरु सबैलाई टपेर अगाडि आउनुभयो । त्यो हैसियत त जनार्दनले कहाँ देखाउन सक्नुभएको छ र ? त्यही टाकानटुकुन कुरा जोडजाड गरेर ल्याएर अनि म वैचारिक नेता हुँ, यसो गर्र्छु, उसो गर्छु भनेर हुन्छ र ? बहसमा आउनुपर्यो नि, विचारको कुरा उठ्दा कहाँ बहस गर्नुभएको छ र ? पार्टीमा हामीले कयौं कुरा उठाएका छौं । खै त्यसमा त उहाँ बहसमा हुनुहुन्न,’– उनले भने ।




प्रतिक्रिया