मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता


बागमती, ८ भदौ । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख फिर्ता गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो ।

आव २०८१/८२ मा सशर्त अनुदानतर्फ दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए ।

विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए ।

त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको रु ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताए । बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ । रासस