नेपालका लागि भारतीय राजदूत नयाँ दिल्लीमा


काठमाडौं, ८ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको चर्चा चलिरहेको बेलामा नेपालका लागि भारतीय राजदूत दिल्ली जानुलाई भ्रमणको तयारी नै भनेर बुझिएको छ ।

प्रधानमन्त्री ओली १४ महिनापछि भारत भ्रमणमा जाने चर्चा छ । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भनिएको छ । हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री भारतभन्दा अघि चीन भ्रमणमा जाने भनिएको छ ।

चीनको तियान्जेनमा हुने सांघाई कोअपरेशन अर्गनाईजेशनको सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री चीन जाने भएका हुन् । तर, भारत र चीन दुवै देशको आसन्न भ्रमणको सन्दर्भमा प्रधानमन्त्री ओलीले अहिलेसम्म तयारी थालेका छैनन् । चीन अगष्ट ३१ मा जाने भनिएको छ । चीन जान एक सातामात्रै बाँकी छ ।

तर, प्रधानमन्त्रीले यसबारेमा अहिलेसम्म कुनै तयारी वा छलफल नगरेको बताईन्छ । यता, नेपालका लागि भारतीय राजदूत भने प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको तयारीको लागि नयाँ दिल्ली पुगेको बताईन्छ ।