काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन संघर्षमा सिँगो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन,’– प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट पारे । प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको बताए । उनले त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए । ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रकृयामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ। अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।’
उनले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।
अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए ।
सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाका विरूद्व शुसासन, सामाजिक न्याय र समृद्विको लडाई लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र (दलाल, नोकरशाही र बिचौलिया) संगै रहन नसक्ने बताए । ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन। तेस्ता प्रवृति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो,’– उनले भने ।




प्रतिक्रिया