हामी मुटु नकमाइकन भन्न सक्छौं- लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि होः पद्मा अर्याल (भिडिओसहित)


काठमाडौं, ९ भदौ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुराको क्षेत्र नेपालको भू–भाग रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तथ्य र प्रमाणका आधारमा निर्धक्क साथ ती भू–भाग नेपालको भूमि हो भन्न सकिने बताएकी हुन् । उनले उक्त भू–भाग त्रिपक्षीय सरोकार रहेको क्षेत्र रहेको पनि बनाईन् । मन्त्री रहेको बेला तत्कालीन समयमा आफ्नै नेतृत्वमा अध्यवधिक नक्सा जारी भएको पनि उनले स्मरण गराईन् ।

‘हाम्रो तथ्य प्रमाणको आधारमा हामीले गरेको कुरा हो । हामीले कुनै भावनाको आधारमा गरेको होइन । माटोप्रतिको प्रश्न हो, त्यसमा हामी एकदमै स्पष्ट छौं । भावनामा मात्रै नबगेर हामीले हाम्रा तथ्य, प्रमाणको जगमा उभिएर त्यो नक्सा जारी गरेको हो । त्यसैले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र हामी निर्धक्कको साथ भन्न सक्छौं कि, मुटु नकमाइकन भन्न सक्छौ कि त्यो नेपालको भूमि हो,’– उनले भनिन् ।

त्रिपक्षीय सीमासित जोडिएको विषयमा भारत र चीनले मात्रै व्यापारिक सम्झौता गर्नुमा नेपाल सरकारको सहमति नरहेको उनले बताईन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक हिसाबले वार्ताको आह्वानसहित आफ्नो दाबी प्रस्तुत गरेर परराष्ट्र मन्त्रालयमार्फत प्रेस नोट पठाइसकेको उनले बताईन् । ‘प्रधानमन्त्रीज्यू नबोलेको कुरा होइन । प्रधानमन्त्रीज्यूले हाम्रा कुटनीतिक मान्यताहरु जे छन्, त्यसमा अडिग भएर परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले प्रेस नोट पठाइसकेको अवस्था छ,’– उनले भनिन् ।

नेतृ अर्यालले तीन देशको सीमासित जोडिएको, तीन देशको सरोकार रहेको ठाउँमा दुई देशले मात्रै सम्झौता गर्नु अन्तर्राष्ट्रिय कानूनविपरीत पनि रहेको बताईन् । ‘जुन खालको सम्झौता भएको छ, त्यो अन्तर्राष्ट्रिय कानुनविपरीतको सम्झौता भएको छ । यस्ता विषयहरुलाई हामी मर्यादित र संयमित भएर कूटनीतिक तबरले छलफल गर्न चाहन्छौं । बारम्बार, विगतको केपी ओलीको सरकारको पालामा पनि हामीले भारतलाई आग्रह गर्यौं–बसौं, छलफल गरौं, यसलाई टुङ्ग्याउ भनेर । हाम्रो आग्रहलाई जुन ढंगले लिनुपर्ने हो, त्यसलाई नलिइसकेपछि तथ्यको जगमा टेकेर हामीले नक्सा जारी गरेको हो । त्यो नक्साभन्दा दायाँबायाँ गर्ने भन्ने प्रश्न आउँदैन । यो हेपाहा प्रवृत्ति हो । हामी यस्तो हेपाहा प्रवृत्तिसँग डराउने कुरा पनि हुँदैन,’– उनले भनिन् ।