भारत र चीनबीच लिपुलेकको मार्ग प्रयोग गर्ने सम्झौता पुरानै निरन्तरता हो, यसैलाई लिएर बाँकी सम्भावनाका ढोकाहरु बन्द गर्न हुँदैनः राजनीतिक विश्लेषक सुवेदी


काठमाडौं, ९ भदौ । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले अहिले नेपालको कूटनीति साह्रो–गाह्रो अवस्थामा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । विश्लेषक सुवेदीले भारत र चीनले लिपुलेक क्षेत्रबाट व्यापारिक मार्ग प्रयोग गर्नेगरी गरेको सम्झौता आजको नभएर सन् १९५४ देखि विवादित रहेको बताए । त्यसकै निरन्तरताको रुपमा यसपाली पनि त्यो समझदारी भएको उनको भनाइ छ ।

‘त्यो क्षेत्रमा कुनै पनि क्रियाकलाप नेपालको जानकारीविना र नेपालको सहमतिबिना हुन हुँदैन भनेर हामीले सुशिल कोइरालाको पालादेखि भनिआएका छौं । हामीहरुले डिप्लोमेटिक नोट पनि पठाइआएका छौं । उनीहरुले १९५४ देखि लिपुलेकलाई लिएर यस्तै सहमति गर्दै आएका हुन्, समझदारी गर्दै आएका हुन् । त्यसैको निरन्तरता स्वरुप यसपाली पनि त्यो समझदारी भएको छ,’– उनले भने ।

भारतसँगको लिपुलेक, कालापानी र लिम्पियाधुरामा रहेको सीमा समस्या रातारात समाधान हुन नसक्ने उनले बताए । यसका लागि लामो कूटनीतिक अभ्यासको आवश्यकता रहेको उनको भनाइ छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई नै लिएर भारतसँगको सम्भावनाका अरु ढोकाहरुलाई बन्द गर्न नहुने उनले बताए । ‘यो रातारात समाधान हुने विषय होइन । लामो कूटनीतिक अभ्यास चाहिन्छ । यसको वातावरणहरु मिल्दै जानुपर्छ र यो समाधान हुने विषय हो । यसैलाई लिएर बाँकी सम्भावनाका ढोकाहरु बन्द गर्न हुँदैन,’– उनले भने ।

उनले सडकमा उत्तेजना पस्केर र संसद्मा उत्तेजक भाषण गरेर दुई देशीय विषय समाधान हुन नसक्ने बताए । नेपालको पहिलो कूटनीतिक उद्देश्य भनेको भारत व्यवस्थापन रहेको उनले बताए । उनले यसलाई हाम्रो भू–अवस्थितिको बाध्यताको रुपमा चित्रण गरे । यतिखेर भारतसित दुस्मनी गर्ने हिसाबले उत्तेजना निर्माण गर्नु नेपालको लागि राम्रो नहुने उनले बताए ।