काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव’ सँग भेट गरेका छन् । विप्लव भेट्न प्रचण्ड आज विहानै हरिसिद्धीमा रहेको विप्लव निवास पुगेका थिए । सो भेटवार्तापछि माओवादी र नेकपाका नेता तथा कार्यकर्ताहरुले पार्टी एकता तत्काल गर्न सुझाव दिएका छन् ।
माओवादी केन्द्रको हालै बसेको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ । तर, नेकपाका नेताहरुले भने आफूहरुसँग यसबारेमा छलफलन भएको भन्दै तत्काल सम्भव नभएको प्रतिक्रिया दिएका थिए । प्रचण्ड आज विप्लवलाई भेट्न आँफै उनको निवासमा पुग्नुलाई पार्टी एकताको अन्तिम गृहकार्यको रुपमा हेरिएको छ ।
माओवादीभित्र यतिवेला प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सम्बन्ध बिग्रिएको छ । शर्माले सार्वजनिक रुपमै प्रचण्डको आलोचना गर्ने गरेका छन् । प्रचण्ड अब जनार्दनलाई फकाउने पक्षमा नभएको उनीनिकट उच्च स्रोतको दाबी छ । प्रचण्डले अब बस्ने पदाधिकारी बैठकमार्फत जनार्दनमाथि कारबाहीको डण्डा चलाउनसक्ने चर्चा छ ।
जनार्दनलाई कारबाही गर्नेगरि अघि बढेका प्रचण्ड यतिवेला विप्लवलाई फकाउँदैछन् । उनले विप्लवलाई माओवादीको महासचिव बनाउने हल्ला छ । आफ्नो निवासमा आएको भन्दै विप्लवले प्रचण्डलाई उच्च सम्मान गरेका थिए । उनले आफू बस्ने कुर्सीमा प्रचण्डलाई राखेको तस्विर सार्वजनिक भएको छ ।
विप्लवले धेरै अघि नै माओवादीसँग एकता गर्ने भनेर पार्टी कमिटीबाट निर्णय लिएका थिए । तर, एकताको लागि प्रचण्ड उदासिन बनेको भन्दै उनले पनि पछिल्लो समय गुनासो पोख्ने गरेका थिए । आजको भेटले भने दुवै दलका नेता तथा कार्यकर्तामा उत्साह थपेको छ । अब एकता चाँडो गर्नको लाग दुवै नेतृत्वलाई दबाब परेको छ ।




प्रतिक्रिया