एकीकृत समाजवादीमा वामदेव कामविहीन, वरिष्ठ नेताको पद पनि मन पराएनन्


काठमाडौं, ९ भदौ । वामदेव गौतमले आफूलाई नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता पद मन नपरेको बताएका छन् । आज (सोमबार) पार्टी पूनर्गठन दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वरिष्ठ नेताको पद आफू्रलाई त्यो बेला पनि मन नपरेको र अहिले पनि मन नपरिराखेको बताए ।

‘मलाई वरिष्ठ नेता भन्ने मन परेको छैन । अहिले पनि परेको छैन, त्यसबेला पनि परेको थिएन । किन वरिष्ठ भनेको ? लामो समय, धेरै बुढो, त्यसो हो भने त म स्वतः वरिष्ठ छदैछु । यो पार्टीमा रहनका लागि त्यो संरचना मैले बोक्नुपर्छ भन्ने बुझेको हुनाले मैले त्यो बोकेको छु । मैले खुसी भएर बोकेको होइन । कुनै पनि पद यस्तो किसिमको सिर्जना गर्नुपर्छ कम्युनिष्ट पार्टीले जसको जनतासित सम्बन्ध हुने पद हुनुपर्यो,’– उनले भने ।

गौतमले अध्यक्षको सम्बन्ध सिधै जनता र पार्टीका सबैसित हुने, महासचिवको सम्बन्ध संगठनसँग हुने बताउँदै वरिष्ठ नेताको पद केसँग सम्बन्धित छ ? भन्दै प्रश्न गरे । उनले आफूले के काम गर्ने भन्ने कुराको थाहा नपाएको बताए ।

‘पार्टी अध्यक्ष जनतासित पनि भयो, पार्टीका सबैसित भयो । महासचिव संगठनसित सम्बन्धित भयो । संगठन विभाग भन्ने छ, त्यो संगठनसित सम्बन्धित भयो । वरिष्ठ नेता के–सँग सम्बन्धित छ ? मलाई भन्दिनुस् त ? मैले के काम गर्ने ? त्यसो भएर पदले काम बोक्नुपर्छ,’– उनले भने ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच गत साउन २ गते एकता भएको थियो । एकतापछि गौतमलाई वरिष्ठ नेतासहित पार्टीमा तेस्रो वरियता दिइएको थियो । गौतमले संगठन विभागको जिम्मा मागे पनि उनलाई त्यो जिम्मेवारी नदिइसकेपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।