मनाङे पदमुक्त हुने फैसलाको पूर्णपाठ सार्वजनिक, उपनिर्वाचनको लागि बाटो खुल्यो


काठमाडौं, ९ भदौ । गण्डकी प्रदेशसभाका तत्कालीन सदस्य सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने भनी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले ज्यानसम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै पदमुक्त हुने फैसला गरेको थियो ।

फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै मनाङ प्रदेश सभा–२ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको छ । उनको मुद्दाको सन्दर्भमा भएको फैसलाको पूर्णपाठ नआएकै कारण मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचनबारे निर्णय हुन सकेको थिएन ।

पूर्णपाठ सार्वजनिक भएसँगै मनाङ प्रदेश सभा–२ मा पनि रुपन्देही क्षेत्र नं.–३ मा सँगै उपनिर्वाचन गराउने कि भन्ने छलफल भइरहेको बताइएको छ । रुपन्देही क्षेत्र नं.–३ मा आगामी कात्तिक १७ गते प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । सर्वोच्चको फैसलापछि मनाङे हाल कारागार कार्यालय डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् । File Photo/RN