राज्य व्यवस्था समितिको सभापति चयनका लागि मनोनयन दर्ता आज


काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता गरिने भएको छ । संघीय संसद् सचिवालयले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै मनोनयनको समय तोकेको हो । मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा गर्न सकिने छ । आजै ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि (बुधबार) दिउँसो ३ बजे समिति बैठक बसेर निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने बताइएको छ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले कुलिङ अफ पिरियडमा भएको छेडखानी पनि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए । संसद् नियमावलीमा सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार भोलि नयाँ सभापति चयन गर्न लागिएको हो ।