काठमाडौं, १० भदौ । नेकपा (एमाले) ले यतिबेला आन्तरिक शक्ति संघर्ष झेलिरहेको छ । एमालेका नेता तथा कार्यकर्ताहरु यतिबेला केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर देखिएका छन् । यद्यपि एमालेले भण्डारीलाई पार्टी सदस्यताबाट भने बञ्चित गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण एक वर्ष अगाडि नै भएको भनिए पनि कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा पार्टी सदस्यता नवीकरण नहुने ओलीको तर्क छ । भण्डारीले राष्ट्रपति हुनेबेला २०७२ सालमा सदस्यता परित्याग गरेकाले उनको सदस्यता नवीकरण हुने प्रश्न नै नआउने ओलीको भनाइ छ ।
‘उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुनेबेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेर नै राष्ट्रपति हुन जानुपर्छ, सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे, होला कर्मचारीले त रसिद काट्दिन्छ । त्यसरी लिने होइन । सबैलाई थाहा छ, उहाँले छोडेको सदस्यता । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यतामात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’ प्रश्न गर्दै ओलीले पार्टीको एक सार्वजनिक कार्यक्रममा भनेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली अहिले भण्डारी सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने पक्षमा छन् । राष्ट्रपति भएर अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति राजनीतिमा आउन नहुने उनको तर्क छ । तर, २०८० साल असोजसम्म भने उनी भण्डारी राजनीतिमा फर्किएको हेर्न चाहन्थे । एमालेको अध्यक्षमा यो ओलीको दोस्रो कार्यकाल हो । पार्टी विधानतः उनी अब तेस्रो पटक अध्यक्ष बन्न पाउँदैनन् । तर, आगामी भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनमा दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगेर उनी तेस्रो पटक अध्यक्षको लाइनमा रहेको प्रष्ट हुन्छ ।
आफू तेस्रो पटक पार्टी अध्यक्ष बन्ने लालसामा ओलीले एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेको जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई राजनीतिमा स्पेस दिन चाहेनन् भन्ने चर्चा पनि राजनीतिक बृत्तमा चलिरहेको छ । यद्यपि भण्डारीले सम्पर्क कार्यालय खोलेर आफ्नो सक्रियता बढाउँदै आएकी छन् । ओलीले ०८० असोजमा पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा भण्डारी सक्रिय राजनीतिमा आउन सक्ने बताएका थिए । ओलीले निष्कृय बस्नुभन्दा सामाजिक क्रियाकलाप वा राजनीतिक गतिविधिमा सक्रिय हुनसमेत भण्डारीलाई सुझाव दिएका थिए ।
‘विद्या भण्डारी एमालेमा फर्किने, राजनीति गर्ने पनि चर्चा छ । तपाईँ के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका थिए, ‘उहाँको खुसीको कुरा हो त्यो । पूर्व राष्ट्रपतिको हिसाबले निष्कृय बस्नुभन्दा कुनै हिसाबले सक्रिय हुनुस् । सामाजिक क्रियाकलापमा सक्रिय हुनुस्, या पोलिटिकल कार्यमा सक्रिय हुनुस् । हुन हुँदैन भन्ने बेकारको कुरा हो यो । पोलिटिक्समा आउन हुँदैन भन्नु बेकारको कुरा हो ।’
‘एमालेको बटम लाइन होइन विद्या भण्डारी राजनीतिमा आउन हुँदैन भन्ने ?’ भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो नि । राजनीति भनेको कुरा कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन । पूर्व राष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष (सभापति) बनाउँछन् भने पनि पाउँछ । को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । समाज सेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो ।’
ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएर प्रधानमन्त्री पनि बन्न सक्ने बताएका थिए । ‘विद्यादेवी भण्डारी एमालेमा फर्किएर, राजनीति गरेर भोलि प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भनेका थिए, ‘सक्नुहुन्छ । पाइन्छ । सम्भावना छ, छैन त त्यो उहाँको कुरा हो । आन्दोलनको कुरा हो । फर्किनुहुन्छ कि हुँदैन, त्यो उहाँको कुरा हो । म अधिकारको कुरा गर्दैछु ।’




प्रतिक्रिया