राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय


काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको शीर्ष नेताहरुको बैठकले राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेलाई पठाउने निर्णय गरेको हो ।

पार्टी सभापति देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित थिए ।

समिति सभापतिका लागि हृदयराम थानी, दिलेन्द्र बडु, अम्बिका बस्नेत, सरिता प्रसाईलगायत आकांक्षी थिए । निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीपश्चात तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । खतिवडाले राजीनामा दिएपश्चात सो पद रिक्त छ । समितिको सभापति चयनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ भने भोलि सभापति चयन गरिने छ ।