काठमाडौं, ११ भदौ । लक्ष्मण पासवानले रुबी साहको हत्या आफूले गरेको स्वीकार गरेका छन् । रौतहट, माधवनारायण–६ की साहको गत भदौ ८ गते रौतहटको गौर नगरपालिका– ९ गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा सुटकेशभित्र शव फेला परेको थियो । रूबीलाई आफूले मारेको स्वीकार गरी लक्ष्मणले आफू पनि नबाँच्ने भन्दै आफ्नै शरीरमा आगो लगाएका छन् । उनले आफ्नो शरीरमा आगो लगाउनुअघि भिडियो बनाएका छन् । उनले भिडिओमा रूबीको हत्या गरेदेखि आफ्नो हात कापिरहेको उल्लेख गर्दै अब नबाँच्ने बताएका छन् ।
‘रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु ? पक्राउ परे जेल जानुपर्छ । १०÷१५ वर्ष सजाय भोग्नुपर्छ,’– उनले भनेका छन् ।
लक्ष्मणले रूबीसँग आफ्नो प्रेम सम्बन्ध रहेको कुरा पनि खुलाएका छन् । उनले त्यो दिन रूबी व्युटीपार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का विना बाँच्न नसक्ने संवाद गरेको उल्लेख गरेका छन् । लक्ष्मणले रूबीसँग स्कुलदेखि नै आफ्नो प्रेम सम्बन्ध रहेको र आफूहरुले अदालतमा गएर विवाह गरेको समेत बताएका छन् । लक्ष्मण आफ्नो शरीरमा आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि विहान भेटिएका थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाएको थियाे । लक्ष्मणको अवस्था गम्भीर रहेकाले प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर पठाइएको बताइएको छ ।




प्रतिक्रिया