काठमाडौं, ११ भदौ । नेपालको देवनागरी लिपि नामेट पार्ने गरी इम्बोस्ड नम्बर प्लेट लाद्ने सरकारको निर्णविरुद्ध जाग नेपालीले सडक आन्दोलन सुरु गरेको छ । बुधबार जाग नेपालीले नयाँ बानेश्वरमा धर्ना तथा विरोधको कार्यक्रम गरेको छ ।
कार्यक्रममा जाग नेपालीले ७ बुँदे माग सार्वजनिक गरेको छ । मागहरुमा रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने, देनागरी लिपिमा सवारी नम्बर प्लेट राख्ने निर्णय लिनुपर्ने, भौतिकमन्त्री देवेन्द्र दाहालले राजीनामालगायत छन् ।
जाग नेपालीका संयोजक डा.दीपेश केसीले इम्बोस्ड नम्बर प्लेट खारेज गरी देवनागरी लिपिको नम्बर प्लेट सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने बताए । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल कमिशनको खेलमा लागेर इम्बोस्ड नम्बर प्लेट लाद्न उत्रिएको भन्दै नैतिकताका आधारमा राजीनामाको माग गरे ।
सत्य र न्याय खोजी अभियानका संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटमा व्यापक भ्रष्टाचार र दोहन भएकोले जिम्मेवार व्यक्तिहरुमाथि कडा कारबाही हुनुपर्ने बताए । उनले देश र जनतामाथिको दोहन चुपचाप सहन नहुने भन्दै आन्दोलनमा उत्रन आव्हान गरे ।
नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले सरकारले नै भ्रम सृजना गरेर इम्बोस्ड नम्बर प्लेट जर्बजस्ती राख्न वाध्य पारिरहेको बताए । उनले नेपाली भाषाको देवनागरी लिपि मेट्ने देखि सुरक्षाका दृष्टिले संवेदनशील इम्बोस्ड नम्बर प्लेट खारेज हुनैपर्ने बताए ।
इम्बोस्ड नम्बर प्लेटको खारेजीको माग गर्दै जाग नेपालीले आन्दोलन ८ भदौबाट सुरु गरेको छ । जाग नेपालीले धर्ना, जुलुसलगायतका शान्तिपूर्ण कार्यक्रम जारी राख्ने संयोजक केसीले जानकारी दिए ।

मागहरु निम्न रहेका छन्ः
१.इम्बोस्ड नम्बर प्लेट खारेजी ।
२.देवनागरी लिपिमा सवारीको नम्बर प्लेट कायमै राख्न सरकारबाट निर्णय गरी राजपत्रमा प्रकाशित गर्नुपर्ने ।
३.इम्बोस्ड नम्बर प्लेटमा भएको भ्रष्टाचारको छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने ।
४.कमिशनको खेलमा संलग्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललाई बर्खास्त गर्नुपर्ने, यातायात व्यवस्था विभागका कर्मचारीहरुमाथि तत्काल छानबिन गरी कारबाही बढाउनुपर्ने ।
५. असंवैधानिक इम्बोस्ड नम्बर प्लेट लागू गराउन आदेश दिने तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग संसदबाट पारित गर्नुपर्ने ।
६.नेपालीको व्यक्तिगत विवरणसम्बन्धी डाटाको सुरक्षा सुनिश्चित गर्नुपर्ने ।
७. नेपालका सबै भाषा, लिपि, संस्कृति, परम्परामाथि आक्रमण नहुने सुनिश्चितता गर्नुपर्ने ।




प्रतिक्रिया