बालेनविरुद्ध कवाड व्यवसायीहरु आज पनि प्रदर्शनमा उत्रिए, वारपारको लडाईँ लड्ने चेतावनी


काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध भन्दै कवाड व्यवसायीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट सुरु भएको कवाड व्यवसायीको प्रदर्शनले कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेको थियो ।

कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेशविपरीत काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनको माग छ ।

‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग हो । यस बिषयमा वारपार गरेरै हाम्रो आन्दोलन स्थगित हुन्छ ।’

उनले सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । कानूनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनले बताए ।

शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौंका सुकुम्बासीले पनि साथ दिएका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेका छन् । उनले कबाड, सुकुम्बासी लगायत सबै मिलेर बालेनको गैरकानून कामको कडा रुपमा बिरोध गर्नुपर्ने बताए । कानूभन्दा आफूलाई माथि राख्न खोज्ने बालेनलाई कानूनको अधिनमा ल्याउन आवश्यक भएको विकले बताए ।

कबाड आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

यसैबीच, आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौं महानगरविरुद्ध लगातार तीन दिनदेखि जारी कवाड आन्दोलनप्रति सरकार गम्भीर नहुनु दुःखद भएको बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै महानगरले कवाड व्यवसायमाथि गरेको ज्यादती रोक्न, शान्ति सुरक्षा, अमनचयन तथा विधिको शासनको प्रत्याभुति दिलाउन सम्पूर्ण न्यायप्रेमीमा योगदान गर्न आह्वान गर्दछु,’ साहले भनेका छन् ।