काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गरेको भनाइलाई गलत अर्थ लाग्नेगरी सामाजिक सञ्जाल र कतिपय अनलाइन मिडियाहरुमा सम्प्रेषित गरिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाउँदै प्रधानमन्त्री ओलीको सचिवालयले काठमाडौंका प्रतिनिधिसँग भन्दै नभनेको ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भएर बाहिर ल्याइएको बताएको छ ।
भेटघाटमा ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको सचिवालयको दाबी छ । ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उनी अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुगिन् भन्ने आश्चर्यमा परेको उल्लेख गरेको पनि सचिवालयको भनाइ छ ।
अध्यक्ष ओलीले ‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवतरुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थितिअनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ । त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन’ भन्ने धारणा राखेको सचिवालयको दाबी छ ।




प्रतिक्रिया