काठमाडौं, १३ भदौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले आफूहरुसँग विगतमा गरेको सहमति कार्यान्वयन नगरेर बारम्बार आन्दोलनमा आउन बाध्य बनाइराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले पनि आफूहरु निरन्तर आन्दोलनमै रहेको बताए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले) हुँदै आज नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । अहिले शिक्षा समितिबाट प्रतिनिधिसभामा विधेयक पुग्दैगर्दा केही विषयहरु सम्बोधन भए पनि शिक्षकहरुका थुप्रै मूलभूत विषयहरु छुटेको उनले बताए ।
अस्थायी शिक्षकलाई स्थायी गर्दा प्रतिशतको कुरा, अवाधिक बढुवा, विभागीय कारबाही, दरबन्दी मिलान, शिक्षकहरुको सरुवा, सेवा प्रवेश उमेरलगातका विषयहरुमा आफूहरुको असहमति रहेको उनले बताए । उनले भने, ‘अस्थायी शिक्षकलाई स्थायी गर्दा प्रतिशतको कुरा मिलेको छैन । स्थायी शिक्षकहरुको आवधिक बढुवाको कुरा आएको छैन । विभागीय कारबाहीको कुरा मिलेको छैन । दरबन्दी मिलान र व्यवस्थापन, शिक्षकको सरुवाको विषय मिलेको छैन । सेवा प्रवेशको उमेर ४० वर्ष राख्नुपर्छ भनेका छौं हामीले । त्यो ३५ वर्षमात्रै राखिदिएर त्यहाँ पनि अप्ठ्यारो परेको छ । प्रधानाध्यापकलाई महासंघको सदस्य हुनबाट बञ्चित तुल्याउने गरी विधेयक अगाडि गएको छ । यस्ता विषयहरु सम्बोधन हुन सकेको छैन ।’
उनले शिक्षा ऐन चाँडो आओस् भन्ने पक्षमै आफूहरुको आन्दोलन रहेको उनले बताए । परिवर्तन भइकन विधेयक पारित भयो भने त्यसलाई संशोधनका लागि पनि आन्दोलन आवश्यक रहेको उनले बताए । उनले आफुहरु आन्दोलनबाट ब्याक नहुने बताए । अहिले राज्यलाई आफूहरुले शिक्षकहरुको माग सम्बोधन भएन भने हिजोको भन्दा कडा आन्दोलन हुन्छ है भनेर सचेत गराइराखेको उनले बताए । शिक्षा विधेयकमा रहेका गलत प्रावधानहरुलाई अब राष्ट्रिय सभामा संशोधन गरिनुपर्ने उनको माग छ ।




प्रतिक्रिया