लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य क्षेत्र हुन् भन्नेमा रास्वपा हिमालझैं दृढ छः गणेश पराजुली


काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य क्षेत्र हुन् भन्नेमा आफ्नो दल हिमालझैं दृढ रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विवादित भूमिका विषयमा चीन भ्रमणमा जानुअघि विषय स्पष्ट पार्न र राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गरेका हुन् ।

सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य विवादको विषय बन्न नसक्ने उनले बताए । उनले काली नदीको उद्गम लिम्पियाधुरा हो र यही नदी नेपालको पश्चिमी सीमा हो भन्ने कुरा प्राप्त विभिन्न प्रमाणले पुष्टि गर्ने बताए । नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना भारत र चीनबीच गरिएको कुनै पनि सम्झौता वैधानिक हुन नसक्ने उनले बताए । उनले यसलाई नेपालको राष्ट्रिय स्वाभीमानमाथिको धक्काको संज्ञा दिए । भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्नेगरी गरिएको सम्झौता अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध रहेको उनको भनाइ छ ।

‘रास्वपा स्पष्ट छ– राष्ट्रको अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणभन्दा ठूलो जिम्मेवारी कुनै पनि दल वा सरकारको हुन सक्दैन । नेपालको भू–भागमाथि अन्य राष्ट्रहरुले नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक हुँदैन र हुन सक्दैन । यस्तो कार्यले आपसी सम्मान र सहअस्तित्वको सिद्धान्तमाथिको ठाडो प्रहारमात्र होइन, नेपालको राष्ट्रिय स्वाभीमानमाथिको धक्का पनि हो । भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरिएको समझदारी अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध छ । जनताले प्रश्न गरेका छन्– सरकारले किन मौनता साँधेको छ ? सरकार यस्तो संवेदनशील विषयमा किन टालटुल गर्दैछ ? अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताको मुद्दामा जनताले मौनता होइन, सरकारको स्पष्ट जवाफ माग गरेका छन्,’– उनले भने । File Photo/RN