जाग नेपालीका संयोजक डा.केसीद्वारा रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट राखिए आमरण अनशन बस्ने उद्घोष


काठमाडौं, १३ भदौ । जाग नेपालीका संयोजक डा.दिपेश केसीले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् । भाषाको संरक्षणका लागि अब नेपाली जनता गाउँ–गाउँबाट उठ्ने बेला आएको उनले बताए ।

संयोजक डा.केसीले विस्तारै–विस्तारै नेपालको भाषा, धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको बताए । ‘यिनीहरुले पहिला ओमकार शब्दमाथि आक्रमण गरेका थिए । त्यसपछि यिनीहरुले भाषामाथि आक्रमण गरे, परम्परामाथि आक्रमण गरे । गुठी प्रथामाथि आक्रमण गरे । अहिले यिनीहरुले लिपिमाथि आक्रमण गरेका छन्,’– उनले भने ।

इम्बोस्ड नम्बरको विरुद्धमा आफूहरुले सुरु गरेको आन्दोलन विस्तारै भुसको आगोझैं फैलिने उनले बताए । अब आन्दोलनको आँधीबेहरीले भौतिकमन्त्री देवेन्द्र दाहाललाई पाखा लगाउने उनको चेतावनी छ । आफू अनुकूलको महानिर्देशक ल्याउने, आफूअनुकूलको सचिव ल्याउने गतिविधि भइरहेको उनले बताए ।

‘बिस्तारै–बिस्तारै यो आन्दोलन भुसका आगोझैं फैलिने छ । किनकी यो आन्दोलन व्यक्तिको होइन । नेपाली समाजको आन्दोलन हो । नेपाल राष्ट्रको आन्दोलन हो । नेपाल राष्ट्रलाई जोगाउने आन्दोलन हो । यो देशको लिपिलाई माया गर्ने जनता यो आन्दोलनमा आउनुपर्छ,’– उनले भने ।

इम्बोस्ड नम्बर लागू भएको देशहरु इजरायलमा हिब्रु भाषा, बंगलादेशमा बंगाली भाषा र अरबमा अरबी भाषामा इम्बोस्ट नम्बर प्लेट रहेको उनले बताए । अहिले १०औं अर्बको कमिशनमा आफ्नै भाषा नामेट पार्ने काम भइरहेको उनले बताए ।

उनले रोमन लिपिमा इम्बोस्ड नम्बर कदापि राख्न नदिने बताए । उनले जबरजस्ती गरिएको खण्डमा यहाँ रक्तपात मच्चिनसक्ने चेतावनीसमेत दिए । उनले भने, ‘म जाग नेपालीको संयोजकको हिसाबले आज भन्न चाहन्छु– यो देशमा यिनीहरुले जबर्जस्ती रोमन लिपीमा इम्बोस्ड नम्बर राख्न खोजे भने यहाँ रक्तपात हुनसक्छ, रगतको खोला बग्न सक्छ । तिनीहरुले हिंसा मच्चाउन खोजे भने यहाँ प्रतिकार हुनसक्छ । जनताको प्रतिकार हुन्छ ।’

रोमन लिपिमा इम्बोस्ड नम्बर राखिए आमरण अनशन बस्नेसमेत उनले चेतावनी दिए । ‘म जीवन रहेसम्म आमरण अनशन बस्छु । तर, यो लिपी (रोमन लिपि) को विरुद्ध लड्छु’ उनले भने, ‘हामी मर्न तयार छौं, तर यो लिपि राख्न दिने छैनौं । किनकी यो संविधानविरोधी लिपि हो ।’

राष्ट्रिय स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले रोमन लिपिमा इम्बोस्ड नम्बर राखिनु नेपालको संविधानविपरीतको कार्य हुने बताए । इम्बोस्ड नम्बर रोमन लिपिमा राख्ने निर्णय नेपालको संविधानको बर्खिलापमा रहेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रवादी एकीकरण अभियानका अभियन्ता विक्रम थापाले जाग नेपालीको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि राखिनुपर्छ भनी थालनी गरेको अभियानमा आफूहरुको समर्थन रहेको बताए । लिपि, भाषा र संस्कृति एक ठाउँमा जोडिएर आउने उनले बताए ।