काठमाडौं, १३ भदौ । शाही युवा शक्ति नेपालले भदौ १४ गते बृहत मोटरसाइकल र्याली आयोजना गरेको छ । भोलि बल्खु चोकमा जम्मा भएर २०औं हजारको संख्यामा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिने बताइएको हो ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले आफूहरु अहिले संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरी राष्ट्रवादी, राजसंस्थावादी भएर नेपाल बचाऔं भन्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताए । राष्ट्रिय झण्डामुनि गोलबद्ध भएर शाही युवा शक्ति नेपालले आन्दोलनलाई अगाडि बढाइरहेको उनले बताए ।
उनले अहिले कोही पनि जनता गणतन्त्रको पक्षमा नरहेको बताए । गणतन्त्रको नाममा भ्रष्टाचार गर्न पाएका मुठ्ठीभरका नेताहरुबाहेक देशमा समग्र नेपाली जनता राजावादी रहेको उनले बताए । उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको व्यवस्था नभएको दाबी गरे ।
‘जनतालाई झुक्याएर, त्रसित बनाएर र जनताको स्वतन्त्र अधिकार हनन् गरेर लादिएको यो गणतान्त्रिक शासन व्यवस्था जनताको व्यवस्था होइन । यो जनताले आफ्नो शक्ति देखाएर कुनै पनि हालतमा खारेज गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया