काठमाडौं, १४ भदौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र बत्तिको उज्यालो भएरमात्रै नपुग्ने र समग्र क्षेत्रमा उज्यालो हुनुपर्ने बताएका छन् । एक महिना लामो युरोप भ्रमणबाट आज फर्किएका घिसिङले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सामाजिक, आर्थिक र राजनीतिक नेतृत्वको रुपान्तरणका लागि उज्यालो नेपालले पहल गर्ने बताएका हुन् । उनले आत्मनिर्भर अर्थतन्त्र बनाउँदै देशभित्र सुशासन, रोजगारीको लागि काम गर्न उज्यालो नेपाल अभियानले सहयोग पुर्याउने बताए ।
‘उज्यालो नेपाल अभियान भन्न खोजेको हामीले देशभित्र बत्तिको मात्रै उज्यालो होइन, समग्र क्षेत्रमा उज्यालो हुनुपर्छ । समग्र क्षेत्रलाई सामाजिक, आर्थिक र राजनीतिक नेतृत्वको रुपान्तरणको लागि अभियानले जागरण ल्याउँछ । सबै क्षेत्रमा नेतृत्व लिन प्रेरित बनाउँछ । आत्मनिर्भर इकोनोमी बनाउँदै देशभित्र सुशासन, रोजगारी कसरी सिर्जना गर्ने भन्ने विषयमा पनि यसले जागरण ल्याउँछ । यो अभियान राष्ट्रिय अभियानको रुपमा अगाडि बढ्नुपर्छ,’– उनले भने ।
साथै, उनले रूपन्देही–३ को उपनिर्वाचनप्रति आफ्नो त्यतिधेरै चासो नरहेको बताए । उनले एउटा व्यक्तिले जितेरमात्रै सुधार गर्न सकिने अवस्था नरहेको बताए । रूपन्देहीको उपनिर्वाचनलाई लिएर आफूले अहिलेको अभियान नगरेको उनको भनाइ छ । ‘रूपन्देहीको कुरा गर्नुभयो । रूपन्देहीको कुरा अहिले म त्यत्ति जान चाहन्न । मैले भनिराखेको छु, एउटा ठाउँमा एउटा व्यक्ति गएर धेरै सुधार हुने अवस्थामा छैन । एक ठाउँको विषयलाई लिएर मैले यो अभियान गरेको पनि होइन । रूपन्देहीको विषयलाई अहिले मैले त्यति महत्व दिएको छैन,’– उनले भने ।
उज्यालो नेपाल अभियान भनेको पार्टी वा पार्टी बाहिरका जहाँसुकैका पनि राम्रा व्यक्ति आउन भन्ने रहेको उनले बताए । ‘व्यक्तिगत रुपमा कुनै प्रयास गरेर मात्रै हुँदैन, सामूहिक प्रयास हुनुपर्छ । राम्रा व्यक्तिहरु नेतृत्वमा आउनुपर्छ भन्ने अभियान भएको हुनाले मैले अहिले सबै एक भएर देश बनाउने अभियानमा लाग्नुपर्छ,’– उनले भने ।
साथै, विदेशमा रहेका नेपालीहरुले आफूहरुमात्रै समृद्ध भएर हुँदैन, देश पनि समृद्ध हुनुपर्छ भन्ने धारणा राखेको उनले बताए । अब नेपाल रुपान्तरण हुनुपर्छ, समृद्धि आउनुपर्छ भन्ने विदेशमा रहेका नेपालीहरुको चाहना रहेको उनले बताए । विदेशमा भएका नेपालीहरुलाई नेपाल फर्किने र लगानीको वातावरण निर्माण गरिदिने हो भने नेपालमा लगानीको खाँचो नै नपर्ने उनले बताए ।
‘देशभित्र एकदमै ठूलो निराशा छ । सबैलाई थाहा भएकै कुरा हो । युवा पलायन भएको छ, विदेशमा रहेर पनि धेरै राम्रा कामहरु गरेर बस्नुभएको छ । विज्ञ, साइन्टिस्ट, व्यापार विभिन्न क्षेत्रमा राम्रो काम गरेर बस्नुभएको छ । उहाँहरुको बुझाई अब नेपाल रुपान्तरण हुनुपर्छ, समृद्धि आउनुपर्छ । हामीमात्रै समृद्ध भएर हुँदैन । देश समृद्ध भएन भने हाम्रो इज्जत रहँदैन भन्ने उहाँहरुको कुरा छ । सबैको देशप्रतिको माया, हामी फर्किन चाहन्छौं, वातावरण बनाइदिनुपर्यो भन्ने नै छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया